उपचारको बहानामा यौनशोषण गर्ने नक्कली धर्मगुरु जेल चलान

 172 पटक हेरिएको


उपचारको बहानामा महिलाहरुको यौनशोषण गर्दै आएका कथित धर्मगुरु जेल चलान भएका छन् । गत मंसिर ५ गते चाल्नाखेलस्थित गुम्बाबाट पक्राउ परेका धर्मगुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई मंगलबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई जर्बजस्तीकरण मुद्दा दायर गरेको थियो । उपचारको बहानामा नांगै बनाएर गुम्बाभित्रै बलत्कार गरेको भन्दै उनका एक अनुयायी महिलाले सिआईबीमा उजुरी गरेकी थिइन् । सिआईबीको अनुसन्धानमा उनले धेरै महिलाहरुलाई यौनशोषण गरेको खुलेको थियो । तर, एक जना मात्र महिलाले उनीविरुद्ध जाहेरी प¥यो ।

करिब १० वर्षअघि चाल्नाखेलमा जग्गा किनेर लामाले निजी गुम्बा चलाउदै आएका थिए । आफु अवतारी लामा भएको भन्दै भ्रममा पारेर उनले ठगी र शोषण गर्दै आएको सिआईबीका एसपी जीवन कुमार श्रेष्ठले बताए । विभिन्न रोगको उपचारका लागि गुम्बामा जाने महिलाहरुलाई उनले उपचारका लागि भनेर नांगै बनाउने र लठ्याएर यौन शोषण गर्दै आएको सिआईबीको अनुसन्धानमा खुलेको थियो । केही महिलाहरुलाई आफ्नो सुसारे बनाएर समेत उनले यौनशोषण गरेका थिए ।

आफु देउताको अवतार भएको र यौनसम्बन्ध राखेको कुरा कसैलाई भने अनिष्ट हुने भन्दै ब्लाकमेलिङ गर्दै आएका थिए । सिन्धुलीको कुशेश्वर स्थायी घर भएका उनी १० वर्षअघिदेखि गुम्बामा बस्न थालेका हुन् । त्यसअघि उनी ट्रेकिङ व्यवसायमा आबद्ध थिए । ठगीकै उदेश्यले उनले गुम्बा खोलेर र आफुलाई अवतारी लामा घोषित गरेका थिए । अवतारी लामा हुने बच्चैदेखि बुद्धधर्मसम्बन्धि नियम मान्नुपर्ने हुन्छ । तर, उनले आफुलाई त्यतीकै अवतारी लामा घोषणा गरेको बौद्ध धर्म विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार