राष्ट्रपति निवास छिरे दाहाल र ओली, फुक्ला अध्यादेशको गाँठो?

 247 पटक हेरिएको

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अध्यादेश पारित नभएसम्म सरकारवाट राजीनामा नदिने नेपाली कांग्रेसको औपचारिक धारणा बाहिर आएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतलनिवास छिरेका छन्।

अध्यादेश जारी गर्ने र सरकार गठनका विषयमा छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न वाम गठवन्धनका शीर्ष नेता शीतलनिवास पुगेका हुन्। हिजैमात्र सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संवैधानिक प्रक्रिया पूरा नभएसम्म सरकार नछोड्ने बताएका थिए।

सरकारले एकल संक्रमणीय पद्धति अनुसार राष्ट्रियसभाको निर्वाचन गर्ने भन्दै अध्यादेश पठाएको थियो। उक्त अध्यादेश लामो समयसम्म राष्ट्रपति कार्यालयमै रोकिएर राष्ट्रपति नै विवादमा आउन थालेपछि राजनीतिक समाधान खोज्न ओली र दाहाल शीतल निवास पुगेका हुन्। उनीहरुसँग पूर्व सभामुख सुवास नेम्वाङ पनि सहभागी छन्।

राष्ट्रपति र उनीहरुबीच अहिले भेट जारी छ।

सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने व्यवस्थासहितको अध्यादेश प्रमाणीकरणका लागि पठाएपछि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको नतिजासमेत सार्वजनिक गर्न सकेको छैन।

सरकारले अध्यादेश कात्तिक ७ गते पठाएको थियो। संविधानमा १५ दिनभित्र सरकारले पठाएको अध्यादेश जारी गर्नुपर्ने भएपछि एमालेकै आग्रहमा राष्ट्रपतिले उक्त अध्यादेश रोकेर राखेकी थिइन्। नयाँ निर्वाचनबाट बहुमत प्राप्त भए पनि सत्तारोहण हुन नपाएपछि ओली र दाहाल दुवै अध्यादेशको गाँठो फुकाउन सक्रिय भएका हुन्।

आजको भेटपछि राष्ट्रपतिले अध्यादेश जारी गर्ने वा सरकालाई फिर्ता पठाउनेबारे निर्णय हुन सक्ने सम्भावन छ।

Like Us on Facebook

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार