दाँतको उपचारका क्रममा बिरामीको मृत्यु

 209 पटक हेरिएको

गुल्मी । तम्घासस्थित रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यु भएपछि आफन्तले अस्पताल घेरेका छन् । चिकित्सको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै नाराबाजी गरेका हुन् ।

मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षिय शिवलाल अर्यालको दाँतको उपचारका क्रममा मृत्यु भएको हो । दाँत दुखेर रेसुङ्गा अस्पत्ताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुने बताएको आफन्त बताउँछन् । गिँजामा अपरेशन गरेपछि उनको होस नफर्केको मृतकका आफन्त बुद्धि गौतमले बताए । ‘दाँत दुखेर दिउँसो २ बजे अस्पताल पुगेपछि अप्रेसन गरेर पिप निकालेपछि ठीक हुन्छ भनियो,’ उनले भने, ‘तर अप्रेसनपछि उहाँको होस फर्केन ।’

अर्यालको मृत्युपछि उनका २१ वर्षीय छोरा अस्पतालमै बेहोस छन् । डाक्टरको लापरबाहीको कारण मृत्यू भएको भन्दै मृतकको शव उठाइएको छैन । ‘अस्पत्तालको लापर्वाही देखिएपछि अहिले हामीले शव छुने कुरा हुँदैन,’ गौतमले भने ‘परिवार र आफन्तहरु आउँदै हुनुहुन्छ । त्यसपछि मात्र छलफल हुन्छ ।’

डाक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप छ । ‘तपाईंले सक्नुहुन्न भने हामी बाहिर लैजान्छौं भनेकै हो तर यहीँ हुन्छ भनेर उपचार गरेका हुन्,’ गौतमले भने ।

अर्जेका वडाध्यक्ष शोभाखर गिरी पनि अस्पतालकै लाहापरवाहीले गर्दा बिरामीको ज्यान गएको आरोप लगाउँछन् ।
रेसुङ्गा अस्पतालमा यसअघि पनि यस्ता घटना घटेको आरोप स्थानीयको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार