नेपालका लागि महत्वपूर्ण खेल; छोटो तयारी, ठूलो सपना


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली साता दिन पनि नबित्दै अर्को महत्वपूर्ण प्रतियोगिता खेल्न विदेश जाँदैछ।

नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि शनिबार जिम्बावेतर्फ प्रस्थान गर्दैछ। नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिदाई समेत गरेका छन् ।

फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिता नेपाली टोलीका लागि निक्कै महत्वपूर्ण रहेको छ। यो प्रतियोगिताले नेपाललाई पहिलो पटक ५० ओभर क्रिकेटको विश्वकपमा पुर्‍याउने मात्रै हैन, आगामी चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पनि दिलाउनेछ। यद्यपि त्यसका लागि नेपाल प्रतियोगिताको फाइनलमा पुग्नु पर्नेछ।

आईसीसीको अहिलेसम्मको निर्णयअनुसार प्रतियोगिताको शीर्ष दुई टोली अर्को वर्षमा हुने विश्वकपका लागि छनोट हुनेछन् भने एसोसिएटमध्ये (नेदरल्यान्डबाहेक) शीर्ष तीनमा रहने टोलीले सन् २०२२ सम्मका लागि एक दिवसीय टोलीको मान्यता पाउनेछन्।

नेपालका लागि ५० ओभर क्रिकेटको विश्वकप छनोट तथा एकदिवसीय टोलीको मान्यता दुवै पहिलो उपलब्धि हुनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार