अवरुद्ध भएको गमगढी–नाग्म सडकखण्ड भोलिदेखि पुनः सञ्चालनमा आउने


मुगु । भारी हिमपातका कारण माघ २९ गतेदेखि अवरुद्ध भएको गमगढी–नाग्म सडकखण्ड भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । हिउँ जमेका कारण मुगु–नेपालगञ्ज ओहोर–दोहोर गर्ने सवारी साधन प्रभावित भएको थियो ।

सडक डिभिजन कार्यालय जुम्लाले जमेको हिउँ हटाएर सडक खुलाउन लागिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको हो । घुच्ची लेकको सात घुम्तीमा जमेको हिउँ पन्छाएपछि यात्रु र मालवहाक सवारी साधन ओहोर–दोहोर गर्न सक्ने बताइएको छ ।

लामो समय सडक अबरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य बस्तुको अभावसँगै कालो बजारी बढ्ने भएकाले सडक खुलाउन स्थानीय प्रशासनले चासो दिएको हो ।

अधिक चिसोका कारण इन्धनसमेत जमेकाले मेशिनको प्रयोगबाट समेत हिउँ पन्छाउन समस्या भएको छ । हिमपातले सडक अबरुद्ध बनाएपछि जुम्लातर्फको भुलभुले लेक र मुगुको गमगढीमा दर्जनौ सवारी साधन रोकिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार