थन्किए निगमका जहाज

चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् । पाइलटहरूबीचको चरम गुटबन्दी र निगमको व्यवस्थापकीय कमजोरीले दुर्गममा सुलभ हवाई सेवा पुर्‍याउन भनी ल्याइएका जहाज ग्राउन्डेड भएका हुन् । निगमका अनुसार यी जहाज अझै कम्तीमा १० दिन उड्ने छैनन् ।

निगमको अपरेसन विभाग (पाइलटहरू कार्यरत) ले बुधबार १० दिनका लागि बनाएको रोस्टर (उडान तालिका) मा क्याप्टेन अभावका कारण वाई १२ई अझै १० दिन ग्राउन्डेड हुने उल्लेख छ । निगम स्रोतले उपलब्ध गराएको उक्त रोस्टरमा वाई १२ई उडाउन निगममा भर्ती भएका पाँच पाइलटमध्ये २ जनाले बिरामी बिदा लिएको र २ जनाले राजीनामा दिएका कारण क्याप्टेन अभाव भएको उल्लेख छ । निगम व्यवस्थापनले लाइसेन्स अपडेट नगरेकाले एक पाइलट भने उडान भर्न अयोग्य छन् ।

जहाजको कमान्डर भनिने मुख्य पाइलट (क्याप्टेन) को अभावमा १६ जना यात्रु क्षमताका चारवटै वाई १२ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् । निगमका एक इन्जिनियरका अनुसार पाँच जनामध्ये निपेन्द्र भट्टराई र सञ्जय बादे श्रेष्ठ बिरामी बिदामा छन् । चिनियाँ विमानका लागि प्रशिक्षक पाइलटका रूपमा आङनुरी शेर्पालाई मासिक साढे ५ लाख रुपैयाँ दिई करारमा नियुक्त गरिएको थियो । तर प्रशिक्षक पाइलट शेर्पा गुटबन्दीका कारण राजीनामा दिई अमेरिका लागेका छन् । अर्का पाइलट अनिशमान शाक्यले पनि राजीनामा दिएका छन् । तर, यी दुवैको राजीनामा निगम व्यवस्थापनले स्वीकृत गरिनसकेको स्रोतले बतायो ।

अर्का पाइलट उद्धव घिमिरेको लाइसेन्स अपडेट गरिएको छैन । आठ महिनासम्म लगातार वाई १२ई उडाएका क्याप्टेन घिमिरेको लाइन्सेन्स अपडेट गर्न प्रशिक्षक पाइलटले जाँच्नुपर्छ । यो निगमको जिम्मेवारी हो । निगमले लाइसेन्स अपडेट नगरिदिएका कारण उनी कामविहीन छन् । निगम सञ्चालक समितिका एक पदाधिकारीका अनुसार अपरेसन विभागमा कार्यरत पाइलटहरूको गुटबन्दीले वाई १२ई को उडान ठप्प भएको हो । विभागका प्रमुख सुवास रिजालले एयरबसको तालिममा आफ्नोगुटसँग नजिक रहेकालाई मात्र पठाउने गरेकोमा निगमभित्र तीव्र असन्तुष्टि छ । निगमभित्र रिजाल समूह र थकाली समूह नामका दुइटा गुट छन् । यो खबर सुरज कुँवरले आजको कान्तिपुरमा लेखेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार