प्रदेशसभाका अधिकांश सदस्य संसद् बैठकसमेत ख्याल नगरी वीरेन्द्रनगरबाट बाहिरिएपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको प्रदेश ६ को संसद् बैठक सूचना टाँसेर स्थगन भयो।
‘प्रदेशको नामकरण र राजधानी तोक्ने’ महत्वपूर्ण कार्यसूची रहेको प्रदेश ६ को प्रदेशसभाको चौथो बैठक बस्न सकेन।
बहुसंख्यक सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक शनिबारसम्मका लागि सूचना टाँसेर स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाका अधिकांश सांसद् संघीय राजधानी काठमाडौंतिर लागेका छन्।
केही सांसद् सुर्खेतबाहिर गएका छन्। सबै सांसद उपस्थित हुन नसक्ने भएपछि बुधबारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
प्रदेशसभा सचिवालयका अनुसार बुधबारको बैठकमा प्रदेशको नामकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो।
तर, अधिकांश सांसद जिल्लाबाहिर गएको र गहन विषयमा निर्णय गर्नुपर्ने भएकाले बुधबारको बैठक स्थगन गरिएको सचिवालयले जानकारी दिएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।