व्यवसायीको अर्बौँ लगानी जोखिममा


काठमाडौं । खाना पकाउने ग्यास ढुवानी गर्ने बुलेट सञ्चालनमा भारतले एक वर्षअघि खडा गरेको अवरोध अझै हटाएको छैन । भारतीय बुलेटको सट्टा नेपाली नम्बर प्लेटका बुलेटबाट ढुवानी गर्न ग्यास उद्योगीले नयाँ बुलेट खरिद गरे पनि सञ्चालनमा भारतले व्यवधान खडा गर्दा ती उपयोगविहीन भएका छन् । व्यवसायीको अर्बौं लगानी पनि जोखिममा परेको छ।

बुलेट सञ्चालनका लागि भारतले ‘एक्स्प्लोसिभ सेफ्टी सर्टिफिकेट’ नदिँदा व्यवसायीले नेपाली बुलेट तयार भए पनि तिनबाट ढुवानी गर्न नपाएका हुन् । नेपालको सबै कानुनी प्रक्रिया पुर्‍याएर भारतीय दूतावाससमेतको सिफारिसमा अनुमति मागे पनि भारत सरकारले गत वर्ष माघदेखि सर्टिफिकेट नदिएर अड्काएर राखेको छ।

गृहलक्ष्मी, एभरेस्ट, मेची, कन्काई, पराजुली ग्यासले ५७ वटा बुलेट निर्माण गरिसकेको बताएका छन् । प्रत्येकलाई ७० लाख रुपैयाँका दरले ५७ बुलेटका लागि नेपाली व्यवसायीले करिब ४० करोड रुपैयाँ लगानी गरिसकेका छन् । ५७ बुलेट तयार भएको र अन्य बुलेट बुक गरेर निर्माण गरिरहेकाले अर्बौं रुपैयाँ लगानी फसेको संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले बताए । ‘सरकारकै निर्णयअनुसार हामीले बुलेट बनाएका हौं,’ घिमिरेले भने, ‘तर सञ्चालनमा ल्याउन नपाएपछि ग्यास उद्योगीको अर्बौं रुपैयाँ फस्यो।’आजको नागरिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार