बीमा कम्पनीको ६ अर्ब ८५ करोड ६४ लाख ४१ हजार रुपेयाँ मूल्य बराबरको हकप्रद शेयर निस्काशन हुँदैछ । बीमा सम्बन्धी विभिन्न कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । ती बीमा कम्पनीले शेयर निस्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।
आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता शेयर २८ करोड ८७ लाख ७५ हजार रूपैयाँमा बिक्री गर्न लागिएको हो । ती कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद शेयर दिन लागेको छ । एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले आर्थिक वर्ष २०७२/७३ मा ५ प्रतिशतमात्रै बोनस प्रदान गरेको थियो ।
सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता शेयर बिक्री गर्न लागेको छ । कम्पनीले २२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दश कित्ता शेयर बराबर ३।५ कित्ता दिन लागेको कम्पनीले जनाएको छ । बीमा कम्पनीले आव २०७३/७४ मा २० प्रतिशत बोनस दिन सफल भएको थियो ।
गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता शेयर २९ करोड ७० लाख रुपैयाँमा मा बिक्री गर्न लागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीले आव २०७२/७३ मा आठ प्रतिशत बोनस उपलब्ध गराएको थियो । कम्पनीले दुई बराबर एक कित्ता हुने गरी हकप्रद दिन लागेको हो ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७२ लाख ९० हजार कित्ता शेयर ७२ करोड ९० लाख रुपैयाँमा बिक्री गर्न लागेको हो । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । एभरेष्टले आव २०७२-७३ मा २० प्रतिशत बोनस उपलब्ध गराएको थियो ।
हकप्रद शेयर बिक्री गर्न लागेको अर्को बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । कम्पनीले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँमा बिक्री गर्न लागेको छ । बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । कम्पनीले आव २०७३/७४ मा २५ प्रतिशत बोनस उपलब्ध गराएको छ ।
हकप्रद शेयर बिक्रीका लागि बोर्डमा आवेदन दिएको अर्को बीमा कम्पनी हो नेपाल इन्स्योरेन्स । कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर रु चार अर्ब ३२ करोड ३५ लाख ४६ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीले आव २०७१/७२ मा ९.४७ प्रतिशत बोनस प्रदान गरेको थियो । सो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । नेपाल स्टक एक्स्चेञ्जमा हाल २२ बीमा कम्पनीको शेयर सूचीकृत रहेको छ ।