आफ्नो बिहेको कार्ड बाड्न हिडेको युवक मृत फेला

आफ्नो बिहेको कार्ड बाड्न हिडेका एक व्यक्ति बाराको गण्डक नहरमा मृत फेला परेका छन् । घाँटी रेटिएको अवस्थामा शव फेला परेकाले हत्या भएको आशंका गरिएको छ ।

बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित गण्डक नहरमा भारत रक्सौलका २२ वर्षीय मनिस कुमारको शव फेला परेको हो । शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मनिसको यही फागुन ११ गते बिहे तय भएको थियो । आफन्त र साथीभाइलाई बिहेको निम्तो कार्ड वितरण गर्न भन्दै उनी बिहीबार घरबाट हिँडेका थिए । उनीसँग तीन जना साथीहरु पनि थिए ।

तर, नेपालको गण्डक नहरमा उनको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले उनका तीनै जना साथीलाई नियन्त्रणमा लिएको छ । हत्याको कारण नखुलेको र पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार