काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित एक घरमा भीषण आगलागी भएको छ । अमृतलाल रञ्जीतको घरमा शनिबार बिहान करिव ४ बजे आगो लागेको हो ।
आगलागीमा परेर प्रविणलाल श्रेष्ठ घाइते भएका प्रहरी जनाएको छ । उनको वीर अस्पतालमा उपचार गरिएको छ । श्रेष्ठ आफ्ना बुबालाई बचाउँने क्रममा घाइते भएका हुन् । ६६ वर्षिय उनका बाबु प्यारालाइसिसका बिरामी हुन् ।
घाइते श्रेष्ठले आफ्ना बुबालाई आगो लागेको ठाँउबाट बाहिर निकाल्न नसकेको बताएको प्रहरीले जनाएको छ । आगोले घरका तीन तला भत्किएकोले घरभित्र पस्न समस्या रहेको घटना स्थलमा रहेका डिएसपी टेकुनन्द लिम्बुले बताए । घरभित्र जान नसिएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज बिहान मात्र आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट रञ्जीतको घरका दुई वटा सिलिन्डर विस्फोट भएपछि नजिकैको अष्टनारायण महर्जन र सरोज शाक्यको घरमा समेत क्षति पुगेको छ ।