एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले रेलिगेसन जोनको स्वान्सी सिटीलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा एभर्टनले स्वान्सीलाई ३ – १ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा एभर्टनले स्वान्सीले बनाएको सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । एभर्टनका लागि डोमिनिक लेविन,गिल्फी सिगुर्डसन र वायन रुनीले समान एक एक गोल गरे । स्वान्सीका लेरोय फेरले एक गोल फर्काए ।
गुडीसन पार्कमा लेरोय फेरले ३५ औं मिनेटमा गोल गर्दै स्वान्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा एभर्टनका लेविनले गोल गर्दै खेल बराबरीमा ल्याए । लेविनले रुनीको पेनाल्टी प्रहार स्वान्सीका किपरले बचाएपछि आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए ।
पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एभर्टनले आक्रामक खेल खेल्यो । खेलको ६४ औं मिनेटमा सिगुर्डसनले गोल गर्दै घरेलु टोलीलाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा रुनीले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई ३ – १ को जित दिलाए । दोस्रो पेनाल्टीमा भने रुनीले सहजै गोल गरेका थिए ।
यो जितसँगै एभर्टन लिगको नवौं स्थानमा उक्लिएको छ । एभर्टनले १८ खेलबाट २५ अंक जोडेको छ । पराजित स्वान्सी लिगको पुछारमा छ । स्वान्सीले मात्र १२ अंक जोडेको छ । लिगको शिर्ष स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा म्यानचेस्टर युनाइटेड र तेस्रोमा चेल्सी रहेको छ ।