उदयपुर । ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन ।
चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य सुरु गरेको उक्त सुनकोशी पुलको अहिलेसम्म पनि सुनकोशी वारि र पारिको पिलरको जग नै बन्न नसकेको फोक्सिङटारका स्थानीयवासी जनक राई बताउँछन् ।
सुरुमा सो कम्पनीका ठेकेदारले तीन महिना काम गरेर त्यतिकै छाडेको र फेरि एक वर्षअघि मात्र सबैतिरबाट दबाब आउन थालेपछि सामान्य काम सुरु गरेजस्तो गरेको र अहिले चार वर्ष बितिसक्दासमेत पुलको जग समेत निर्माण हुन नसकेको खोटाङ लिच्कीराम्चेका स्थानीयवासी जगन्नाथ खत्रीको भनाइ छ ।
खत्री भन्छन्, ‘चारवर्षअघि सुरुमा ठेकेदारले काम सुरु गर्न थालेपछि अब गाईघाट दिक्तेल सडकमा निरन्तर सवारी साधन चल्ने भयो भनेर हामीहरु सबै हर्षित भयौँ तर अहिलेसम्म पनि ठेकेदारले पुलको पिलरको सामान्य जगसमेत बसाउन नसक्दा निराश भएका छौँ ।’
‘गौरापार्वता निर्माण कम्पनीले ३ वर्षअघि नै गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा २०७० देखि नै पुल निर्माण कार्य सुरु गरेको भए तापनि अहिलेसम्म पिलरको जग नै निर्माण गर्न नसक्दा कत्तिको लापरबाही गरेको छ भन्ने कुरा प्रस्ट छ तर सम्बन्धित निकाय र सरोकारवाला अहिलेसम्म पनि मौन बसिरहेका छन्’, यो भनाइ हिमाली यातायात व्यवसायी संघ उदयपुरका अध्यक्ष प्रेमकुमार राईको हो ।
रु. १६ करोड बजेटमा निर्माण सुरु भएको उक्त सुनकोशी नदीको पक्की आरसिसी पुलका ठेकेदार रामकुमार थापा लगायतले पुलको पिलरको जग नै नखनी २५ प्रतिशत बजेटसमेत निकासा गरेर लिइसकेको समेत स्थानीयवासीको आरोप छ ।
अहिलेसम्म पनि पुलको पिलर गाड्ने जग नै तयार नहुनु र पुलको निर्माण कार्य झनै पछि धकेलिँदै गएका कारण निर्माण कम्पनीको लापरबाहीले चरम पराकाष्ठा नाघेको उदयपुर क्षेत्र नं २ का पूर्वसांसद तथा शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीको समेत धारणा छ ।
आफू तथा खोटाङका सांसद विशाल भट्टराईले समेत पुल निर्माण कम्पनीलाई पुल चाँडो निर्माण गर्न पटक–पटक दबाब दिएको पूर्वसांसद चौधरी सहितका जिल्ला नेतासमेत बताउँछन् । तर पुल निर्माण कम्पनीले राजनीतिक दलका नेताका आवाजलाई समेत बेवास्ता गरेको आरोप स्वयं खोटाङका पूर्वसांसदहरु समेतको छ ।
२०५१ सालमा नै तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले शिलान्यास गरेको गाईघाट–दिक्तेल सडक मार्गमा अहिले पनि सुनकोशी नदीमा पुलको अभावका कारण हिउँदमा बेलिब्रिजबाट गाईघाट–दिक्तेल सडकखण्डमा यातायात सञ्चालन हुने गरेको छ भने वर्षामा बेलिब्रिज खोलेपछि पुलको अभावमा ६ महिना यातायात पूर्ण रुपमा बन्द हुने गरेको छ ।
यस विषयमा गाईघाट–दिक्तेल सडक कार्यालयका प्राविधिक इन्जिनियर राजेन्द्र जोशीसँग पुल निर्माणको ढिलाइका बारेमा जानकारी माग्दा उक्त पुल गाईघाट–दिक्तेल सडक कार्यालयले नहेर्ने र सडक विभागअन्तर्गत पुल आयोजना, धरान, सुनसरीले हेर्ने गरेको जोशीले बताए ।
तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म पुलको पिलरको जग नै निर्माण हुन नसकेपछि निर्माण कम्पनीको लापरबाहीले सीमा नाघेको भन्दै यातायात व्यवसायी र खोटाङ, उदयपुरवासी जनताले समेत व्यापक आक्रोश पोख्न थालेका छन् ।