काठमाडौँ । जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण तथा शरीर बन्धक मुद्दामा सुनुवाइपछि बुधबार चौधरीलाई अपहरण गर्ने पाण्डे र विकलाई १६ वर्ष कैद, एक/एक लाख रूपैयाँ जरिवाना र जनही दुई/दुई हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए।
मुलुकी ऐनको अपहरण तथा शरीर बन्दकको–३ नम्बर महलअनुसार १२/१२ वर्ष कैद, ७ नम्बर महलअनुसार दुई/दुई वर्ष थप कैद र ९ नम्बर महलअनुसार थप दुई/दुई वर्ष कैदको व्यवस्था अनुसार १६ वर्ष कैद सजाय भएको हो ।
चौधरीलाई बन्दक बनाएको दिनदेखि मुक्त नभएको दिनसम्म प्रतिदिनको ५ सय रूपैयाँका दरले जनही दुई हजार रूपैयाँको दरको क्षतिपूर्ति भराउने फैसला अदालतले सुनाएको हो ।
पाण्डे र विकले बर्दियाको सरस्वती उच्च माविमा पढ्ने चौधरीलाई गत साउन १२ गते अपहरण गरेका थिए । अपहरण गरेको चारदिनमा चौधरी अपहरण मुक्त भएका थिए ।