काठमाडौँ । शिक्षा क्षेत्रमा सरकारी बजेट घट्दै गएपछि गुणस्तर वृद्धिमा असर परेको भन्दै विज्ञहरूले यस क्षेत्रमा १३.५ प्रतिशत पुर्याउन सुझाव दिएका छन् ।
चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ९.९ प्रतिशतमात्र बजेट विनियोजन गरिएको छ । पछिल्ला केही वर्षमा कुल बजेटको आकार बढे पनि शिक्षा क्षेत्रमा भने सोही अनुपातमा वृद्धि हुन सकेको छैन । सरकारद्वारा शिक्षा क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय कार्यदलले बजेट वृद्धि गरी गुणस्तर सुधार गर्न सुझाव दिएको हो ।
कार्यदलले गत पुस अन्तिम साता शिक्षा मन्त्रालयमा बुझाएको प्रतिवेदनमा शिक्षामा लगानी गर्ने सम्बन्धमा कुल बजेटको १५ प्रतिशत भन्दा कम नहुनेगरी बजेट विनियोजन गर्न सुझाव गरिएको छ । बजेट वृद्धिका लागि सरोकारवाला निकायहरूसँग अविलम्ब छलफल गर्न र आर्थिक वर्ष २०७५-२०७६ मा संघ, प्रदेश र स्थानिय सरकारमार्फत चालू र पुँजीगत वित्तीय हस्तान्तरणसमेत गरी संघीय सरकारले हाललाई १३.५ प्रतिशत अनिवार्य रूपमा शिक्षामा लगानी गर्न सुझाव गरिएको छ ।
शिक्षाविद् विद्यानाथ कोइरालासहित १ दर्जन विज्ञ सदस्य रहेको कार्यदलले गुणस्तर सुधारका लागि लगानी बढाउँदै केही वर्षभित्र १५ प्रतिशत बनाउन सुझाव दिएको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षामा देशको कुल विनियोजित बजेटको कम्तिमा २० प्रतिशत लगानी हुने गरी बजेट विनियोजन हुनुपर्छ ।
आजको कारोबार दैनिकमा खबर छ ।