२ नम्बर प्रदेश राजधानी र भाषाको विवादमा फस्दै


जनकपुरधाम– प्रादेशिक राजधानी र भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन । सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि राजधानीको र प्रदेशसभा सदस्यले शपथ लिएपछि भाषाको विवाद चुलिँदै गएको हो ।

राजधानीका लागि वीरगञ्जमा आन्दोलन र भाषाको प्रयोगका लागि आठ जिल्लामध्ये छ वटा जिल्लामा भाषिक चर्चा परिचर्चा र विरोधका कार्यक्रम दिनप्रतिदिन भइरहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार प्रदेश नं २ को आठ जिल्लामा मैथिली भाषी ४५.३० प्रतिशत, भोजपुरी भाषी १८.५८ प्रतिशत र हिन्दी भाषी ०.१२ प्रतिशत रहेका छन् । विवाद चुलिनुका कारणमध्ये कतिपय प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने बेलामा आफ्नो मातृभाषालाई बेवास्ता गरी अन्य भाषालाई मातृभाषा भनी उल्लेख गर्नुलाई मानिएको छ । शपथका दिन १०७ प्रदेशसभा सदस्यमध्ये मैथिली भाषामा ४७, भोजपुरी भाषामा २५, नेपाली भाषामा २४ र ११ जनाले हिन्दी भाषामा शपथ लिएका थिए ।

हिन्दी भाषामा शपथ लिनेमध्ये अधिकांशको मातृभाषा मैथिली रहेको अवस्थामा हिन्दीमा शपथ लिनुको अर्थ के थियो ? भन्ने प्रश्नले मैथिली मातृभाषीबीच चिन्ताको विषय बनेको बेलामा नै मैथिली भाषामा शपथ लिएकामध्येबाटै एक जना सदस्यले प्रदेशसभाको प्रथम बैठकमा हिन्दीमा बोलेपछि मातृभाषाको उपेक्षा गर्ने सदस्यलाई लक्षित विरोधका स्वर र कार्यक्रमले निरन्तरता पाएको देखिएको छ ।

मिथिला क्षेत्रको भाषा मैथिली हो । प्राचीन मिथिलाको मातृभाषा मैथिली रहेको दाबी विद्वानहरूको छ । वाल्मिकी रामायणको सुन्दरकाण्डको श्लोक १८ मा उल्लेख गरिएको अनुसार रावणले सीतालाई हरण गरी अशोक बाटिकामा राखेका बेला हनुमानले सीतासँग मैथिली मातृभाषामा संवाद गरेका थिए । संस्कृत भाषामा कुरा गरेमा रावणका गणले सरल ढंगले बुझ्ने भएकाले एकआपसमा बुझिने भाषाको प्रयोग गर्नु बाध्यता रहेको थियो ।

डा.दुर्गानन्द झाद्वारा लिखित मैथिली साहित्यको ‘इतिहास’ नामक पुस्तकअनुसार मिथिलाको अस्तित्व वेदकालदेखि नै रहेको छ । वेद, पुराण, उपनिषद, मिमांशामा वर्णित वातावरण , वनस्पति, जीवजन्तु, मिथिलासँग मेल खान्छन् । जनक वंशको उदयपछि विधिवत्रूपमा मिथिला राज्यको स्थापना भएको थियो र जसको राजधानी जनकपुरधाम रहेको थियो । इतिहासकारले जनक वंशको कार्यकाल इसापूर्व ३००० देखि ६०० सम्म उल्लेख गरेका छन् । यसबीचमै सीताको जन्म भएको थियो । कोशी, कमला, वाग्मती, गण्डकी तथा गंगाजस्ता नदीको मध्यमा रहेको यस भूमिलाई तीरभूक्ति अर्थात तीनतिरबाट घेरिएको भनिन्छ ।

आठौँ शताब्दीमा लिखित सिद्ध ग्रन्थ मैथिली भाषामा रहेको छ । त्यस बेलाका डाक, भास, भुसुप्पालगायत सिद्ध कविका दोहा तथा गान अहिले उपलब्ध छ । यी स्रष्टाका अधिकांश रचना नेपालका तराई भूमिमा प्राप्त भएको छ । भारोपेली भाषा समूहको भाषामध्ये सबैभन्दा प्राचीन ग्रन्थ ज्योतिश्वरको धु्रत समागम मैथिली भाषामा लिएको उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार