नेपालद्वारा युएई पराजित


आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगतको तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स युएईमाथि ४ विकेटको जीत हासिल गरेको छ । जित्ने पर्ने दबाबमा रहेको नेपालले योसँगै युएईसँगको हारको शृंखला पनि अन्तय गरेको हो । वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा नेपालले युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य २८.५ ओभरमा ६ विकेट गुमाएर सफलतापूर्वक पछ्याएको हो ।

झिनो लक्ष्य पछ्याउने क्रममा फेरि पनि नेपालको ब्याटिङक्रम धर्मराएको थियो । कप्तान पारस खड्काले अर्धशतक बनाउँदै एकतर्फ टिकिरहँदा अर्को तर्फ लगातार विकेट झरेको थियो । प्लेयर अफ द म्याच घोषित कप्तान पारसले ४८ बलमा २ चौका र ५ छक्काको मद्दतले ५१ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकिरहेका थिएनन् । आरिफ शेखले १६ रन बनाउँदै पारसलाई साथ दिए भने रोहित कुमार पौडेल र सोमपाल कामीले नटआउट रहँदै क्रमशः १२ र १० रन बनाउँदै टोलीलाई जीत दिलाए ।

सोमपालले ७ ओभरमा ३० रन खर्चर्दै ४ विकेट लिए भने सन्दीपले ७ ओभरमा समान रन खर्चर्दै ३ विकेट लिए । कप्तान पारसले पनि २ विकेट लिन सफल भए । तीन खेलमा नेपालको यो दोस्रो जीत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार