खुल्ला ठाउँमा दिशा गर्ने जनप्रतिनिधि पक्राउ


खुला ठाउँमा दिसा गरिरहेका बेला नरहा-३ का वडा सदस्य जगदेव महरा शनिबार बिहानै पक्राउ परे । सरसफाइ अभियन्ताले प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी मिर्चैया इलाका प्रहरीमा लगिएको थियो । प्रहरी कार्यालयमा एक हजार जरिवाना तिरेर उनी रिहा भएका छन् ।

खुला ठाउँमा दिसापिसाव गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्ने निर्णयअनुसार महरालाई नियन्त्रणमा लिइएको अभियन्ता गोपाल घिमिरेले जानकारी दिए । उनका अनुसार महराले चाँडै घरमा चर्पी बनाउने प्रतिबद्धतासमेत जनाएका छन् । पाँच वडा सदस्यमध्ये महरा, समतोलिया मण्डल र बेचन यादवले अझै चर्पी बनाउन नसकेको उनको भनाइ छ ।

शिक्षक, नेता र पहुँचवालाले नै चर्पी नबनाउँदा सन् २०१७ सम्ममा पनि सिरहा जिल्ला खुला दिसामुक्त घोषणा हुन नसकेको निष्कर्ष अभियन्ताले निकालेका छन् । ‘अब कुल घरधुरीमध्ये तीन सय ६२ जनाको घरमा मात्र चर्पी छैन’, अभियन्ता घिमिरेले भने, ‘जसमा अधिकांश नेता, शिक्षक र पहुँचवाला व्यक्ति छन् । उनीहरूकै कारण अभियान सफल भएको छैन ।’

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार जिल्लामा कुल एक लाख १८ हजार दुई ३६ घरधुरी छ । तीन सय ६२ घरमा चर्पी छैन । समितिका फोकल पर्सन रमेश निधिले जिल्लाका १७ मध्ये १४ स्थानीय तह खुला दिसामुक्त भइसकेको जानकारी दिए । भने, ‘नरहा गाउँपालिकाका १७२, अर्नमा गाउँपालिकाका १०३ र सिरहा नगरपालिकाका ८७ घरधुरीले मात्र चर्पी बनाएका छैनन् ।’

उनका अनुसार चर्पी अझै नबनाएका व्यक्तिले माघभित्रै बनाउने प्रतिबद्धता जनाएका छन् ‘चर्पी नबनाएका व्यक्तिको घर पुगेर दैनिक घच्घचाउने काम गरिरहेका छौं’, उनले भने, ‘उनीहरूले माघभित्र चर्पी बनाए भने फागुन पहिलो साता सिरहा जिल्ला नै खुला दिसामुक्त घोषणा हुन्छ ।’ प्रदेश २ का आठ जिल्लामध्ये सिरहा सरसफाइमा अगाडि रहेको उनको दाबी छ ।

घरमा चर्पी भए पनि चेतना अभावका कारण खुला ठाउँमा दिसापिसाब गर्नेको संख्या अत्यधिक रहेको अभियन्ता बताउँछन् । अभियन्ता रामेन्द्र यादवले भने, ‘चर्पी घरमा छ तर बाहिर दिसा गर्न धेरैले छाडेका छैनन् । चेतनाको एकदमै अभाव छ ।’

यसैबीच चर्पी निर्माण र प्रयोगको अवस्थाबारे अनुगमन गर्न सञ्चारकर्मी खटिने भएका छन् । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन गर्ने जिम्मा सञ्चारकर्मीलाई दिएको हो । जिल्लाको समग्र सरसफाइको अवस्थाबारे अनुगमन गर्न ३० सञ्चारकर्मी आइतबारदेखि खटिने पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार सञ्चारकर्मीहको चार टोलीले चार निर्वाचन क्षेत्रमा पाँच दिन अनुगमन गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार