काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि १ लाख १४ हजार रूख ढालिँदै

काठमाडौं । तराई द्रुतमार्ग (फास्ट ट्रयाक) छिचोल्न प्रस्तावित क्षेत्रका १ लाख १४ हजार रूख ढालिने भएका छन् । निर्माण जिम्मा पाएको नेपाली सेनाको टोलीले रूख कटानको काम धमाधम अघि बढाइरहेको छ ।

मकवानपुरको बुधुनेमा ढालिएका रूख आरा लगाएर गिँड्दै सैन्य टोली । तस्बिर : प्रताप/कान्तिपुर

बाराको निजगढबाट काम थालेको टोलीले मकवानपुरको बुधुने क्षेत्रका ५ सामुदायिक वनसम्म आइपुग्दा १४ हजार रूख ढालिसकेको छ । रूख ढाल्न डोजर, एक्साभेटर र भिरालो ठाउँमा विद्युतीय आरा प्रयोग गरिएको छ । काटिएका रूख सम्बन्धित सामुदायिक वन र जिल्ला वनकै जिम्मा लगाइएको छ ।

अहिले हेटौंडा उपमहानगरपालिका १८ स्थित पञ्चकन्या सामुदायिक वनको चिलाउने घारीदेखि चादेखोला हुँदै अन्नपानीसम्म रूख कटानको काम भइरहेको सेनाका सहायक रथी भरतबहादुर खडकाले बताए । ‘फास्ट ट्रयाकमा पर्ने निजगढदेखि मकवानपुरसम्म १४ हजार रूख कटान सकिएको छ,’ उनले भने, ‘निजगढको साढे ८ किलोमिटर क्षेत्रमा १३ हजार र बुधुने क्षेत्रका सामुदायिक वनका १२ हजारमध्ये १ हजार रूख कटान सकिएको छ ।’ रूख कटान गर्न २ सय ६५ सैनिक खटिएका छन् ।

रूख कटान र ट्रयाक खन्ने काम सँगसँगै अघि बढाइएको छ । सडक क्षेत्रमा साना–ठूला गरी करिब १ लाख १४ हजार रूख काट्नुपर्ने जनाउँदै सहायक रथी खडकाले फागुनको दोस्रो सातासम्ममा कटानको काम सकिने दाबी गरे । उनका अनुसार लेनडाँडा, सिस्नेरी, खोकनालगायत क्षेत्रमा भने ठुला रूख छैनन् ।सेनाले कामको गति बढाउन १० स्थानमा सैन्य शिविर राख्न थालेको छ ।

तीमध्ये सिस्नेरीको दोभान, भक्कुबेंसी, लेनडाँडा, बुधुुने र बागदेवमा शिविर बसालेको छ । खोकना, ठिंगन, राजदमार, निजगढ र अँधेरीमा छिट्टै शिविर बस्ने सेनाले जनाएको छ ।हरेक शिविरमा १ सयको संख्यामा रहने गरी सेनाले १ हजार सैनिक खटाउँदै छ । ४ लेनको उक्त सडक समथर क्षेत्रमा २५ मिटर (पिच हुने भाग) र उच्च पहाडी क्षेत्रमा २३ मिटर चौडाइको हुनेछ ।

सरकारले लामो विवादपछि सेनालाई निर्माणको जिम्मा दिएको हो । सेनाले ६ दशकयता साना–ठूला गरेर २८ वटा सडक बनाएर सरकारलाई हस्तान्तरण गरिसकेको छ । सैन्य शिविरले ७/८ किलोमिटर सडक हेर्ने गरी व्यवस्थापन गर्ने सेनाले जनाएको छ । सेनाले नसक्ने काम आफ्नै निगरानीमा निर्माण कम्पनीबाट गराउन प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ गरी जम्मा ७६ दशमलव २ किलोमिटर लामो फास्ट ट्रयाकमा बत्ती जडानलगायत काम भइरहेका छन् ।

सेनालाई ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मा दिएको हो । निर्माण क्षेत्रमा पानी, बिजुलीलगायतका सुविधा छैन । कटानमा संलग्न जवानका लागि खानेपानी छैन । कालोपत्रे तयारी गर्न थ्री फेजको लाइन छैन । क्रसर र अलकत्रा प्लान्टका लागि बढी क्षमताको विद्युत् आवश्यक हुन्छ । यसका लागि रूख र डाँडा कटान गरी सम्याउने काम भइरहेको छ । २५ मिटर चौडाइमा पिच गरिने सडकको चौडाइ १ सय मिटरको हुनेछ । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार