एमाले-माओवादी एकताको गाँठो फुकेन

बुधबार साँझ सामाजिक सञ्जालमा माओवादी नेता-कार्यकर्ताले एउटा स्ट्याटस पोस्ट गरे, ‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०-३० को भागबन्डा अनि पार्टी एकता…!’

सुरुमा यो स्ट्याटस माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी (पथिक) ले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। लगत्तै माओवादीका जनवर्गीय संगठनका अधिकांश नेता-कार्यकर्ताले त्यसैलाई ‘कपी-पेस्ट’ गर्न थाले। सुवेदी माओवादीका यस्ता नेता हुन्, जो अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता रामबहादुर थापासँग समदूरी सम्बन्धमा छन्। सशस्त्र युद्ध सुरुवातमा दाहालका प्रमुख स्वकीय सचिव रहेका उनी प्रतिनिधिसभा चुनावमा पनि दाहालकै चुनावी कमान्डर थिए।
के-के छन् गाँठा ?

– दुवै पार्टीको मूल नेतृत्वको व्यवस्थापन

– बहुदलीय जनवाद, माओवाद र एक्काइसौं शताब्दीको जनवाद

– गिभ एन्ड टेक देखिने गरी पावर सेयरिङ

– दोस्रो तहका नेताको स्वार्थ र दबाब

यसले प्रस्टै बुझाउँछ, एमाले-माओवादी मूल नेतृत्वबीच पर्दाभित्र भइरहेको एकता वार्ताको चुरो। निर्वाचनलगत्तै एकता गर्ने संकल्प लिएका यी दुई पार्टीबीच एकताको गाँठो झन् कसिँदो छ। गाँठो के हो भन्ने नेताहरूले लुकाए पनि मूल नेतृत्वको व्यवस्थापनमै समस्या रहेको विस्तारै खुल्न थालेको छ। असोज १७ मा नेपालका यी दुई ठूला कम्युनिस्ट पार्टीले चुनावी तालमेल मात्र होइन, पार्टी एकताकै सैद्धान्तिक घोषणा गरेका थिए। प्रतिनिधिसभा, प्रदेशसभा हुँदै राष्ट्रियसभा चुनाव र प्रदेश सरकार निर्माणको भागबन्डासम्म सहमति जुटाएका दुई पार्टीलाई एकताको गाँठो फुकाउन मुस्किल परेको छ। एकीकृत पार्टीको कार्यदिशा र मूल नेतृत्वका विषयमा दुई पार्टी अध्यक्षले आफ्नै तहमा छलफल गरे पनि विकल्प गोप्य राख्दै आएका छन्।

‘हिजो गणेश शाह माओवादीमा मिलेजस्तो अहिलेको एकता होइन। गिभ एन्ड टेक देखिने गरी पावर सेयरिङ हुनुपर्छ, नत्र एकता हुने देखिन्न।’ – हरि रोका

राजनीतिक विश्लेषक झलक सुवेदीको भनाइमा एमाले-माओवादी एकता अहिले माओवादी अध्यक्ष दाहालको पदीय व्यवस्थापनमा अल्झिएको छ। ‘ओलीजी प्रधानमन्त्री हुन कुनै समस्या छैन। प्रचण्डजीले स्वीकार गरिसकेको कुरा हो। यसबाहेक ठूलो पार्टीको अध्यक्ष भएका हिसाबले उहाँको अन्य अवस्था के ? ’ सुवेदी भन्छन्, ‘त्यस्तै प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत नबनेपछि प्रचण्डको भूमिका के ? यसैमा अल्झिएको छ एकता।’

वार्तामा रहेका नेताहरूले छलफलका विकल्प सार्वजनिक नगरे पनि अन्तर्य कुरा मूल नेतृत्वको विवाद नै रहेको सजिलै बुझ्न सकिने वामविश्लेषक श्याम श्रेष्ठ बताउँछन्। ‘संगठनात्मक सिद्धान्त, विचार र पद विभाजनका विषयवस्तु मिलाउनुपर्ने छ। सबैभन्दा बढी पेचिलो पद विभाजन नै होला,’ श्रेष्ठ भन्छन्, ‘अहिले समय लिएको पनि पद विभाजनले नै हो जस्तो देखिन्छ। यो सजिलैसँग हुँदैन।’

अल्झिएको विषय यतिमा मात्र सीमित छैन, एमालेले मान्दै आएको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको माओवाद, एक्काइसौं शताब्दीको जनवादका विषयमा पनि यी दुई पार्टीको शीर्षस्थ नेतृत्व टुंगोमा पुग्न सकेको देखिँदैन। यही जटिलता दुई पार्टी एकताका लागि तगारो देखिन पुगेको विश्लेषकको ठम्याइ छ।

प्रस्ताव आ-आफ्नै

वाम गठबन्धन स्रोतका अनुसार पार्टी एकतामा चुरो विवाद दुई अध्यक्षको व्यवस्थापनमै हो। यसो हुँदा एकता संयोजन समितिका अन्य सदस्यलाई यो विषयमा निर्णय लिन गाह्रो परिरहेको छ। दुई अध्यक्षलाई भावनात्मकदेखि सैद्धान्तिक राजनीतिक तहसम्मका संवाद एक्लै गरेर विषय छिचोल्न संयोजन समितिले समय दिएको हो।

‘ओलीजी प्रधानमन्त्री हुन कुनै समस्या छैन। प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत नबनेपछि प्रचण्डको भूमिका के ? यसैमा अल्झिएको छ एकता।’- झलक सुवेदी

दुई अध्यक्षले त्यसको गृहकार्यका लागि अनगिन्ती छलफल पनि गरेका छन् तर मूल नेतृत्वको छलफलमा दोस्रो तहका नेताले प्रेसर थपिदिँदा निर्णय लिन अप्ठ्यारो परेको छ। राजनीतिक विश्लेषक सुवेदी दुवै पार्टीका जर्नेल (दोस्रो पुस्ता) हरूको रुचि मुखरित हुँदा शीर्षलाई निर्णय लिन अप्ठ्यारो परिरहेको ठान्छन्। ‘दुवै पार्टी अध्यक्षका जर्नेलहरूले आफ्नो स्वार्थ हेरिरहेको देखिन्छ, त्यसले एकतामा केही बाधा पु¥याउन सक्छ। दुई नेताले आफ्ना जर्नेलहरूसँग सल्लाह÷संवाद नै गरेका छैनन् भन्ने होइन, दुवैले गर्दै आएका पनि छन्। त्यही छलफलबाट शक्ति आर्जन गर्दै, बार्गेनिङ पनि गर्दै होलान्जस्तो देखिन्छ,’ उनी भन्छन्।

माओवादीले पदीय भागबन्डा लगाउँदा प्रधानमन्त्री र एकीकृत पार्टी अध्यक्ष, राष्ट्रपति र सभामुखमध्ये रोजी एमाले र छोडी पद आफूले लिने गरी सहमतिको मोडालिटी प्रस्ताव गरेको छ। त्यसको पुष्टि माओवादी नेता देवेन्द्र पौडेल गर्छन्। ‘प्रधानमन्त्री र एकीकृत पार्टी अध्यक्षमध्ये एक तथा राष्ट्रपति र सभामुखमध्ये एक माओवादीले लिने गरी एकताको भागबन्डा मिलाउनुपर्छ, अहिले माओवादीको प्रस्ताव त्यही हो,’ उनी भन्छन्।

एमाले माओवादीको प्रस्तावमा सहमत छैन। उसले सकभर माओवादी अध्यक्ष दाहाललाई एकतापछि सहअध्यक्ष र अन्य पदीय बाँडफाँटमा राष्ट्रियसभा अध्यक्षसम्म दिएर जान सकिने गरी प्रस्ताव अगाडि सारेको खबर आजको अन्नपूर्णपोस्टमा छापिएको छ ।

‘अब कसैले प्रयत्न गरे पनि एकता प्रक्रिया भाँडिएर अर्को दिशातिर जाला भन्ने देखिँदैन। अलिक समय लिएर पनि सफल हुनेतिरै देखिन्छ।’ – श्याम श्रेष्ठ

एमालेको यस्तो प्रस्तावमा माओवादी सशंकित हुन थालेपछि भने उसले दुई अध्यक्षात्मक प्रणाली र महाधिवेशनपछि अध्यक्षको प्रस्तावमा दाहाललाई मनाउने कोसिस गरिरहेको छ। यस्तो प्रस्तावले एकतामा ब्रेक लाग्न सक्ने खतरा औंल्याउँछन्, अर्का राजनीतिक विश्लेषक हरि रोका। उनी भन्छन्, ‘राष्ट्रपति, पार्टी अध्यक्ष, प्रधानमन्त्रीदेखि मुख्य पद एमालेले मात्र लिने हो भने गिभ एन्ड टेक हुँदैन। आत्मसमर्पणजस्तो हुन्छ। हिजो गणेश शाह माओवादीमा मिलेको वा माले एमालेमा मिलेजस्तो अहिलेको एकता होइन। गिभ एन्ड टेक देखिने गरी पावर सेयरिङ हुनुपर्छ, नत्र म एकता हुने देख्दिनँ।’

एमाले नेता झलनाथ खनाल आवश्यकता पर्दा एमालेले त्याग गरेर भए पनि एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने बताउँछन्। ‘हामीले हिजो सानो पार्टीका नेता मनमोहन अधिकारीलाई नै अध्यक्ष बनाएर एकता गरेका हौं, त्यसैले एमाले लचिलो हुँदैन भन्ने होइन,’ उनी भन्छन्, ‘अहिले नै सबै सकिएको छैन, अध्यक्षहरूले सकारात्मक छलफल गरिरहनुभएको छ। सहज रूपमै अगाडि बढ्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार