बामदेवको घरमा एकता संयोजन समिति बैठक, प्रगति शून्य

नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दैछ ।

पार्टी एकता प्रक्रियामा प्रगति नदेखिएको भन्ने आलोचनाकाबीच दुई पार्टीका अध्यक्षले एकता संयोजन समिति बैठक बोलाएका हुन् ।

ललितपुरको मानभवनस्थित पार्टी उपाध्यक्ष बामदेव गौतमको निवासमा मध्यान्ह बस्ने भनिएको बैठकमा पार्टी एकताबारे भएका प्रगतिको समीक्षा गर्नेबारे छलफल हुने बताइएको छ । केन्द्रीय सरकार गठनको दिन नजिकिदै गर्दा पार्टी एकतालाई पनि मुर्त रुप दिन खासगरी माओवादी केन्द्रले दबाब दिँदै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली भने सरकार गठनपछि विस्तारै पार्टी एकताको प्रक्रियालाई अघि बढाउनुपर्ने पक्षमा छन् । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सरकार गठनअघि नै पार्टी एकताको प्रगति सन्तोषजनक हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबारमात्रै मानभवनमा ओली र दाहालबीच डेढ घन्टा भेटवार्ता भएको थियो । उक्त भेटमा माओवादी अध्यक्ष दाहालले पार्टी एकता प्रक्रियामा प्रगति नदेखिएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि दुई नेताबीच शुक्रबार एकता संयोजन समिति बैठक बोलाउन समझदारी बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार