राजिनामा दिँदै प्रधानमन्त्री देउवा

राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनको बाटो खुला गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार फागुन पहिलो सातासम्म राजीनामा दिने देउवाको तयारी छ । ‘संविधान कार्यान्वयनका लागि आवश्यक सबै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गरेपछि राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिलाई राजीनामा दिने प्रधानमन्त्री ज्यूको तयारी छ,’ प्रेस संयोजक परियारले भने, ‘राजीनामा र राष्ट्रका नाममा दिइने सम्बोधनको विषयमा उहाँले छलफल पनि गरिसक्नुभएको छ ।’

निर्वाचन आयोगले फागुन ५ गतेभित्र निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाउने बताएको छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवका अनुसार प्रतिनिधिसभाको अन्तिम नतिजा चाँडोमा ३ फागुन र ढिलोमा ५ फागुनमा राष्ट्रपतिलाई बुझाइने छ ।

यता, वाम गठबन्धनका नेताहरुले भने प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् । ‘ वाम गठबन्धनलाई सरकार बनाउन हतार होइन,’ माओवादी केन्द्रका नेता मणि थापाले भने, ‘तर सबै नतिजा सार्वजनिक हुँदासम्म राजीनामा दिन्छु भन्नु देउवाको नैतिकता भएन ।’ उनले तत्काल राजीनामा दिएर नयाँ सरकारको बाटो खुला गर्न देउवासँग आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार