कुलमानको चमत्कारले बढायो औद्योगिक क्षमता, नौ प्रतिशतको वृद्धि


लोडसेडिङ अन्त्य भएसँगै औद्योगिक क्षेत्रमा सकारात्मक संकेत देखापरेका छन् ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७३/७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनले आव २०७२/७३ मा भन्दा गत आवमा ९.१ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको देखाएको हो । केन्द्रीय बैंकको तथ्यांकअनुसार अघिल्लो आवमा औद्योगिक क्षमता ४८.२ प्रतिशत रहेकामा गत आवमा ५७.३ प्रतिशत पुगेको छ । लोडसेडिङ अन्त्यको सबैभन्दा बढी लाभ पस्मिना उद्योगले लिएको छ ।

समीक्षा अवधिमा पस्मिना उद्योगले ९८.५ प्रतिशत क्षमता उपयोग गरेको तथ्यांकले देखाएको छ । बियर उद्योगको उपयोग क्षमता भने केही घटेको छ । अघिल्लो वर्ष ८८ प्रतिशत क्षमता उपयोग गरेको बियर उद्योगले गत वर्ष ८२.१ प्रतिशतमात्र क्षमता उपयोग गरेको छ । राष्ट्र बैंकका अनुसार चामल उद्योगले सबैभन्दा कम अर्थात् २८.८ प्रतिशतमात्र क्षमता उपयोग गरेको छ ।

सहज विद्युत् आपूर्तिपछि सिमेन्ट तथा छड उद्योगको क्षमतामा समेत उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेन्ट उद्योग धेरै वर्षपछि नाफामा गएका छन् । ऊर्जा आपूर्तिमा वृद्धि, बन्द हड्तालमा कमी तथ औद्योगिक श्रम सम्बन्धमा सुधार आउँदै जाँदा उत्पादन क्षेत्रमा सकारात्मक संकेत देखिएको राष्ट्र बैंकले जनाएको छ । उद्योगीहरूले पनि ऊर्जाको नियमित आपूर्ति नै औद्योगिक क्षमता वृद्धिको मुख्य कारक भएको बताएका छन् ।

यससँगै वित्तीय संस्थाले औद्योगिक क्षेत्रको कर्जा प्रभाव २१ प्रतिशतले वृद्धि गरेका छन् । केन्द्रीय बैंकका अनुसार औद्योगिक क्षेत्रको लगानी ६ खर्ब ३७ अर्ब १८ करोड रूपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार