मगुका स्याउ किसान गोडमेलमा व्यस्त


मुगु । केही वर्ष अगाडीसम्म मुगुका कृषकले उत्पादन गरेको स्याउ, छरछिमेकले खाए खान्थे, नखाए कुहिन्थ्यो । विक्रि गरेर पैसा कमाउने कृषकले परिकल्पना पनि गरेका थिएनन् ।

तर, पछिल्लो समय स्याउ कृषकको पसिनाले पैसा साटिरहेको छ । मुगुमा उत्पादित स्याउले अपेक्षाकृत मुल्य त पाएको छैन । तर, विस्तारै बजार पाउँदैछ । त्यसैले स्याउ कृषक पनि उत्पादन बढाउन मेहेनत गर्न थालेका छन् ।

मुगुका स्याउ कृषकलाई भ्याइनभ्याइ छ । स्याउ बगानमा मलजल र काटछाटको काम धमाधम चलिरहेको छ । बेलैमा मलजल र छाटकाट गरेपछि उत्पादन राम्रो हुने भएकाले कृषक मलजल र छाटकाटमा जुटेका हुन । पहिले–पहिले बगानमै स्याउ कुहिन्थ्यो । तर, आजभोली स्याउबाट कृषकले राम्रै आम्दानी गरिरहेका छन् ।

मुगु राष्ट्रिय सडक संजालमा जोडिएपछि स्याउ कृषकको आम्दानी पनि बढेको छ । आम्दानी बढ्न थालेपछि कृषक पनि स्याउ खेती स्याहारसुसारमा लागेका छन् । छायानाथ रारा नगरपालिका ५ ताल्चाका स्याउ कृषक धिरेन्द्र भाम स्याउ बगानमै भेटिन्छन् । उनको बगानमा फल्ने १ सय ५० बोट छन् । साना ५ सय विरुवाले फल दिन भने केही वर्ष लाग्छ । तीनै विरुवा स्याहार्दै धिरेन्द्रको दैनिकी बित्छ ।

स्याउ खेतीका लागि कृषकले कसैबाट तालिम पाएका छैनन् । परम्परागत शैलीमै स्याउ खेती चलिरहेको छ । तर, स्याउले पैसा साट्ने भएपछि कृषकको जाँगर चाहिं बढेको छ ।

जाँगरिलो स्याउ कृषकलाई बेला–बेला प्रकृतिले भने साथ दिदैन । यस वर्ष पनि समयमै हिमपात नभएका कारण सोचेजस्तो उत्पादन नहुनेहोकी भन्ने कृषकलाई चिन्ता छ । हिमपातको मुख्य सिजनमा आवश्यक हिमपात नभएकाले यस पटक उत्पादन घट्नसक्ने कृषकको अनुमान छ ।

समयमै हिमपात नभए पनि उत्पादन बढाउन कृषक लागिपरेका छन् । पकेट क्षेत्र मानिएका रोवा, बाम, सोरुकोट, ताल्चा, कालापाल्त, पिना, टोप्ला खमाले, जिउका लगायतका कृषक स्याउ गोडमेलमा व्यस्त छन् । उनीहरुलाई आधुनिक किसिमको स्याउ खेतीका लागि आश्वयक तालिमको जरुरी छ ।

त्यति मात्र होइन, कृषकले उत्पादन गरेको स्याउका लागि राज्यले बजारको पनि व्यवस्था गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार