राष्ट्रिय सभाको तयारी पुरा भोलि चुनाव हुँदै

निर्वाचन आयोगले राष्ट्रिय सभाको सम्पूर्ण तयारी पूरा गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र राष्ट्रिय सभा निर्वाचन परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिने प्रक्रिया थालिने बताए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलले कम्तीमा आफूले प्रतिनिधित्व गरेको कुल सिटको ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभा गठन नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा हुन सकेको छैन ।

‘माघ २४ गते चुनाव सम्पन्न हुन्छ, सोही रातिबाट परिणाम आउन थाल्छ । सकभर भोलिपल्ट २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै परिणाम आइसक्छ,’ उनले भने । आयोगले माघ २६ गते राष्ट्रिय सभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य राखेको छ ।

प्रमुख आयुक्त यादवका अनुसार प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिन आयोगको तयारी पूरा भइसकेको छ । २६ गते कुन दलले कति सिट पाएको सार्वजनिक गरी विजयी उम्मेदवारको नाम प्रस्ताव गर्न दलहरूलाई पत्राचार गरिने आयोगको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार