काठमाडौं । ज्योतिषहरुले बताएको भविश्य एवं पञ्चाङ्ग पात्रोमा उल्लेख भएको वार्षिक फललाई कसैले पत्याउँछन् त कसैले विश्वास गर्दैनन् । तथापि प्रत्येक वर्ष पात्रो छापिँदा वर्षभरिको ‘फल’ उल्लेख गरिएको हुन्छ ।ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले तयार पारेको ०७५ सालको सूर्य पञ्चाङ्ग पात्रोको ‘मासफल’ लाई पत्याउने हो भने आगामी असारबाट शासक वर्गमा तनाव एवं मतभेद देखा पर्नेछ । त्यसबेलाको ‘शासक वर्ग’ भनेको सम्भवतः केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार हो ।
पञ्चाङ्ग पात्रोमा बैशाखदेखि नै राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु देखा पर्ने भनिएको छ । मंसिरमा शासक वर्गमा मतभेद एवं वैमनस्य बढ्नेछ । र, शासन प्रणालीमा चित्त नबुझे्र कतै कतै जनसंघर्ष देखा पर्नेछ ।सूर्य पाञ्चाङ्गमा पुस महिनाको मासफलको सुरुमै राष्ट्र प्रमुखहरुमा द्वन्द्व सुरु हुने उल्लेख गरिएको छ । तर, माघमा विश्वासको संकट टर्ने बताइएको छ ।
तर, फेरि फागुनको मासफलमा यस्तो लेखिएको छ– ‘राजनेताहरुमा परस्पर विरोध बढ्ने छ ।’
०७५ साल चैतको मासफलमा लेखिएको छ– राजनीतिक क्षेत्रमा देखिएको समस्याले निकास पाउने छ ।
पात्रोमा मंसिरदेखि शासक वर्गमा वैमनस्य बढ्ने र चैतमा समस्याले निकास पाउने उल्लेख छ । पुसमा वर्षाका कारण जनजीवन कष्टदायी हुने उल्लेख छ
पञ्चाङ्गमा उल्लेखित मासिक फल अनुसार ०७५ साल बैसाखमा महंगी बढ्ने, सेयर बजारमा अस्थिरता बढ्ने, अपराधका घटनाहरु बढ्ने अनि राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु बढ्ने छन् ।
जेठ महिनामा महंगी बढ्ने, रोग र महामारी फैलने, दुर्घटना बढ्ने, आपसमा झगडा र युद्ध हुने्, आँधी-हुरी आउने र राजनीतिक क्षेत्रमा विश्वासको संकट देखापर्ने सूर्य पञ्चाङ्गमा उल्लेख गरिएको छ ।
असारमा जनता सुखी हुने, सुनचाँदी र भैंसीको मूल्य बढ्ने, घिऊ तेलको मूल्य स्थिर हुने, फलफूल र तरकारीको मूल्य आकाशिने अनि शासक वर्गमा तनाव र मतभेद बढ्ने पात्रोमा उल्लेख छ ।
साउनमा कतै-कतै युद्ध, महामारी, बाढी पहिरो आदि समस्या आइपर्ने उल्लेख छ । भदौमा ‘राजनीतिमा विश्वासको संकट टर्न थाल्नेछ’ भनिएको छ । असोजमा फेरि ‘शासक वर्गमा मतभेद उत्पन्न हुनेछ’ भनिएको छ । कात्तिकमा त झन् ‘कतैकतै साम्प्रदायिक तनाव देखा पर्नेछन्’ भनिएको छ ।
मंसिरदेखि शासक वर्गमा वैमनस्य बढ्ने र चैतमा समस्याले निकास पाउने उल्लेख छ । पुसमा वर्षाका कारण जनजीवन कष्टदायी हुने उल्लेख छ ।
पात्रोमा उल्लेख भएका यस्तो भविश्यवाणी विज्ञानसम्मत छ भनेर पुष्टि गर्न सकिँदैन । तैपनि हिन्दु संस्कृतिमा यस्ता कुरालाई राशीफलजस्तै गरी एउटा विश्वास एवं मान्यताका रुपमा लिइने गरिएको छ र नेपाली पात्रोमा हरेक वर्ष यसरी वार्षिक फल प्रकाशित गर्ने परम्परा रही आएको छ ।
त्यसैले पात्रोमा लेखिएका यी कुराहरु पत्याउने वा नपत्याउने जिम्मा पाठकलाई नै ।