अमेरिकी सेयर मूल्यमा पहिरो, उथलपुथलबाट लगानीकर्ता आतंकित

अमेरिकी सेयर मूल्यमा एक दशकअघिको आर्थिक संकटयताकै एक दिनमा सबैभन्दा ठूलो गिरावट आएको छ । बीबीसीका अनुसार सेयर मूल्यमा ११ सयभन्दा बढी अंकले गिरावट आएको विवरणहरूमा उल्लेख छ । ४.६ प्रतिशतको गिरावटसहित डाऊ जोन्सको सोमवारको कारोबार बन्द भएको छ ।

शुक्रवार अमेरिकी श्रम मन्त्रालयले रोजगारीको संख्या सार्वजनिक गरेको थियो जसले अपेक्षा गरिएभन्दा बढी तलबमा वृद्धि हुने देखाएको थियो । त्यसपछि कम मूल्यमा सेयर विक्री बढेको थियो । तलबमा वृद्धि भए मानिसहरूले बढी खर्च गर्ने र त्यसले मुद्रास्फिति बढ्ने अपेक्षा गरिएको छ।

सेयरको मूल्यको आकलन बढी गरिएको चिन्ताका माझ महिनौँदेखि बजारमा भएको वृद्धिपछि पछिल्लो गिरावट आएको हो ।

ह्वाइट हाउसका एकजना प्रवक्ताले सेयर बजारमा बेलाबखत उथलपुलथ हुन सक्ने बताएका छन् । तर उनका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले देशको दीर्घकालीन आर्थिक अवस्थामा ध्यान केन्द्रित गरेका छन्, जुन अपवादको रूपमा बलियो रहेको छ।

सेयर मूल्यमा देखिएको गिरावटले यसअघि सन् २००८ मा भएको गिरावटलाई उछिनेको छ । सन् २००८ को आर्थिक संकटका बेला ७७७.६८ अंकले शेयर मूल्यमा गिरावट भएको थियो । प्रतिशतको हिसाबले सन् २०११ को अगष्टमा अमेरिकी सेयर मूल्यमा भएको गिरावटयताकै यो सबैभन्दा बढी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार