चिनियाँ नागरिकले सालकको खपटा तस्करी गर्दै

काठमाडौं । सालकको खपटा तस्करी गरेको आरोपमा नौ दिनदेखि दुई चिनियाँ नागरिक जिल्ला वन कार्यालय काठमाडौंको हिरासतमा छन्। उनीहरूले कंगो र स्तानबुल हुँदै एक सय ६१ किलो सालकको खपटा ६ वटा सुटकेसमा ल्याएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले चिनियाँ नागरिकद्वय क्यू जिओरानो र क्वी लेबाओलाई माघ १५ गते पक्राउ गरेको हो। उनीहरूले सुरुमा ‘कछुवाको खपटा हो, यसलाई उमालेर खाँदा औषधिको काम गर्छ’ भन्दै भन्सार कर्मचारीलाई झुक्याएका थिए। भन्सारको ब्यागेज एरियामा शंका लागेर सुटकेस खोतल्दा सालकको खपटा देखिएपछि नियन्त्रणमा लिएको जानकारी भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले दिए।

‘सुटकेसको तौल ९१ किलो भनेर ट्याग लगाइएको थियो। यति धेरै तौल के हुन सक्छ भनेर खोतल्दा सालकको खपटा पो रहेछ,’ उनले भने, ‘विस्तृतमा अनुसन्धान गर्नुपर्ने देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला वन कार्यालयका अधिकृतलाई बोलाएर पठाइएको हो।’

दुई चिनियाँले कंगो र स्तानबुल हुँदै एक सय ६१ किलो सालकको खपटा ६ वटा सुटकेसमा ल्याएका थिए।

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीका अनुसार चीन, भियतनाम, लाओसलगायत मुलुकमा खपटा तस्करी हुँदै आएको छ। एकैपटक एक सय ६१ किलो सालकको खपटा बरामद भएको यो पहिलो घटना हो। यसअघि थोरै परिमाणमा मात्रै खपटा बरामद हुँदै आएको थियो। विशेषगरी सालकको खपटा चीनमा औषधिसँगै रक्सीमा समेत सालक र यसको खपटा प्रयोग गरिन्छ।

पक्राउ परेका चिनियाँ नागरिकले दिएको बयानअनुसार सालकको खपटा पाइल्सको औषधिसँगै अन्य औषधि बनाउने प्रयोजनमा प्रयोग हुँदै आएको छ। टाँक बनाउन पनि खपटा प्रयोग गर्छन्। एसिया र अफ्रिकामा सबैभन्दा बढी मारिने र व्यापार हुने जनावरको सूचीमा सालक अग्रपंक्तिमा पर्छ। सालकलाई स्थल माछा भनेर समेत चिन्छन् यसका पारखीले। विश्वमा चार किसिमका सालक पाइन्छ, तीमध्ये दुई किसिमको अफ्रिकामा मात्रै र दुई किसिमको एसियामा मात्रै पाइन्छ।

एउटा जवान सालकबाट एक किलो खपटा निस्किन्छ। किलोको एक लाख रुपैयाँ अवैध मूल्यमा सालकको खपटा बिक्री हुँदै आएको ब्युरोले जनाएको छ। नेपालमा सालक महाभारत र चुरे पहाडमा बढी पाइन्छ। मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखालगायत मध्यपहाडी जिल्लामा सालक पाइन्छ। एसियामा पाइने दुईखालको (कालो र सेतो) सालक नेपालमा पनि पाइन्छ। साइटिस सन्धि २ अनुसार चीनमा समेत सालक चोरी सिकारी र यसको खपटा बिक्री-वितरणलाई अवैध मानिन्छ। यो खबर आजको अन्नपूर्णपत्रिकामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार