भागबन्डा कै कारण अन्यौल बन्दै एमाले माओवादी एकता


एमाले । माओवादी एकता एकीकृत पार्टीको मूल धारमा पुगेर रोकिएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक-अर्कोमै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब हुन थालेको हो।

एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको हो। एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमाले र एक माओवादीले लिने गरी भागबन्डा गर्नुपर्ने माओवादीको अडानमा एमाले सहमत छैन।

नेतृत्वको विवाद मिलाउन दुई अध्यक्षबीच विभिन्न विकल्पमा छलफल भने चलिरहेको वाम नेताले बताएका छन्।

एकीकृत पार्टी अध्यक्ष र प्रधानमन्त्रीमै दुई अध्यक्षको व्यवस्थापन मात्रै अहिलेको सन्दर्भमा सम्मानजनक पार्टी एकताको एउटा मात्रै विकल्प भएको मत राखिरहेको माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले बताए। ‘एकता रोकिएको यही भन्ने छैन, एमालेको तर्फबाट सलल बगेको छैन, एमालेले अलि-अलि रोक्न खोजेको देखिन्छ’, माओवादी अध्यक्ष दाहालका भाइसमेत रहेका उनले भने, ‘विकल्प केही छैन, एकीकृत पार्टी अध्यक्ष हाम्रै अध्यक्ष प्रचण्ड हुने हो, प्रधानमन्त्री केपी ओली नै हुने गरी मात्र एकता हुन्छ, अन्य विकल्प नै छैन। अरूबाट हुँदैन, त्यो नमिल्दासम्म एकता हुँदैन।’

तर, माओवादीले भने दुई अध्यक्ष प्रणालीको पछिल्लो एमालेको प्रस्तावलाई पनि स्विकारेको छैन। ‘पार्टी एकता भनेको दुई अध्यक्ष प्रणाली राखेर फेरि आ-आफ्नो पार्टी चलाउनेजस्तो कुरा हो, त्यो हामीलाई मान्य हुँदैन, अरू केही हुँदैन, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली हुने कुरा मात्र माओवादीको एकता गर्ने लाइन हो, नत्र एकताको सम्भावना कम हुन्छ’, दाहालले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार