भन न आमा ! तिमीले सल्काएको दियोले तिम्रा आँखाको…


आमा !
तिमीले कातेको बातीले
तिम्रो पिडाको आयतन – नाप्छ कि नाप्दैन ?
तिमीले दिएको अर्घले
घरको निभेको चुल्हो -धुवाउ़़ंछ कि धुवाउंदैन ?
तिमीले गाँसेको दुनामा
तिम्रै आंसुको सागर -अटाउंछ कि अटाउंदैन ?
तिमीले डढाएको धुपले
तिम्रो दुखको क्यान्सर -सेकाउंछ कि सेकाउंदैन ?
र तिमीले लिप्ने पोतेरीले
तिम्रो सपनाको इन्द्रेणी – बोलाउंछ कि बोलाउंदैन ?
……………………………

भन न आमा !
तिमीले सल्काएको दियोले
तिम्रा आँखाको तुवांलो -मेटाउंछ कि मेटाउंदैन ?
तिमीले पुछेको ऎनाले
तिम्रो सक्कली अनुहार – देखाउंछ कि देखाउंदैन ?
तिमीले बुनेको गुन्द्रीले
तिम्रा सुत्केरी रहरहरू – सुताउंछ कि सुताउंदैन ?
तिमीले फुकेको आगोमा
तिम्रा खुशीहरूको घाम – उदाउंछ कि उदाउंदैन ?
र तिमीले टालेको थाङ्नोमा
तिम्रो आफ्नै इतिहास – लेखिन्छ कि लेखिदैन ?
…………………

आमा !
किन केहि पनि बोल्दिनौं
र चुपचाप-चुपचाप ब्रतमात्र बसिरहन्छ्यौ ?
अब प्रश्न गर, आमा !
तिमीले बसेको ब्रतले
हाम्रो भोकको ब्याकरण – मिलाउंछ कि मिलाउंदैन ?
र तिमीले पिएको गोडपानीले
यो पृथ्वीको अदृष्य आयु -लम्ब्याउंछ कि लम्ब्याउंदैन ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार