दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एक दिवसीय खेल भारतले जित हाशिल गर्न सफल भएको छ ।
घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले सहज जित निकालेको छ । सेन्चुरीयनमा आइतबार भएको दोस्रो खेलमा पाहुना टोली भारतले दक्षिण अफ्रिकालाई ९ विकेट हराएको हो ।
दक्षिण अफ्रिकाले दिएको ११९ रनको लक्ष्य भारतले २० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । योसँगै भारतले घरेलु टोलीविरुद्धको ६ खेलको सिरिजमा २ – ० ले अग्रता बनाएको छ । बिहिबार भएको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।
भारतको जितमा शिखर धवनले अविजित ५१ रनको अर्धशतकीय पारी खेल्दा कप्तान विराट कोहलीले अविजित ४६ रन बनाए । यस्तै भारतका रोहित शर्माले १५ रन जोडे । दक्षिण अफ्रिकाका कागीसो राबडाले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३२ ओभर २ बलमा अलआउट हुँदै ११८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि जेपी डुमिनी र खाया जोन्डोले समान २५ – २५ रन जोड्दा हासिम अमलाले २३ रन जोडे । त्यस्तै क्विनटन डि कक्ले २० तथा क्रिस मोरिसले १४ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ५ तथा कुलदिप यादवले ३ विकेट लिए ।