भारतीय विदेशमन्त्री सुष्मा स्वराज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा काठमाडौंमै थिए ।
झापा, मोरङ र सुनसरीमा आयोजित पार्टी कार्यक्रम सकेर काठमाडौं आएका अध्यक्ष थापा सरकारका उपप्रधानमन्त्रीसमेत हुन् । त्यसैले विदेशमन्त्री स्वराजसँग थापाको भेट र सम्वाद हुनेमा राप्रपाका धेरै नेता–कार्यकर्ता विश्वस्त थिए ।
अध्यक्ष थापा पार्टी कार्यक्रमका लागि भन्दै मकवानपुरतिर लागे । सरकारलाई अपर्झट सूचना दिएर तय भएको भ्रमणमा अध्यक्ष थापाले नै चासो नदिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ बताउँछन् । भन्छन्, ‘भ्रमणबारे सरकारलाई एक दिनअघि मात्रै जानकारी दिइयो । पूर्व निर्धारित पार्टी कार्यक्रमका कारण पनि भेट हुन सकेन ।’
अध्यक्ष थापा एमाले अध्यक्ष केपी ओली सरकारका परराष्ट्रमन्त्री हुन् । समकक्षीका रुपमा थापा र स्वराजबीच धेरै सम्वाद भएको थियो । भारतीय नाकाबन्दी खोल्नेबारे भएको सम्वादले पनि स्वराज र थापाबीचको सम्बन्ध थप सघन बनाएको थियो ।
‘ओलीको निमन्त्रणामा नेपाल आएकी स्वराजले सरकारका उपप्रधानमन्त्रीलाई नभेट्नु अनौठो भएन’, प्रवक्ता श्रेष्ठ भन्छन् । उसो त, सरकारको नेतृत्व गरिरहेका दल नेपाली कांग्रेसका नेताहरुले समेत छुट्टै र सरकारको नेतृत्व गरिरहेका दल नेपाली कांग्रेसका नेताहरुले समेत छुट्टै भेट्न पाएनन् ।
जबकी, विदेशमन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग वान टु वान सम्वाद गरिन् भने राजपाका अध्यक्ष मण्डलसँग सम्वादलाई महत्व दिइन् ।
तर, सरकारकै उपप्रधानमन्त्रीको भूमिकामा रहेको र भारतीय सत्तारुढ दल भाजपासँग मिल्दोजुल्दो कार्यक्रम पारित गरेको दलका अध्यक्ष थापालाई भेट नदिनू अर्थपूर्ण रुपमा हेरिएको छ ।