दरबन्दी भएको डाक्टर अस्पताल नै आउँदैनन्, विरामी क्लिनिक जान बाध्य

पश्चिम नवलपरासीको सबैभन्दा पुरानो पृथ्वीचन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा महत्वपूर्ण सेवाहरु प्रभावित भएका छन् ।

अस्पतालबाट सेवा नपाएपछि बिरामीहरु चर्को शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् । नवलपरासीको रामग्राम नगरपालिकाको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा आठजना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, दरबन्दी भएका चिकित्सक कोही पनि अस्पतालमा आउँदैनन् । विशेषज्ञ चिकित्सक नै अस्पतालमा नआएपछि सम्बन्धित सेवाहरु बन्द नै भएका छन् । अस्पतालका आवश्यक सेवाहरु बन्द हुँदा बिरामीले अस्पतालभित्रै निशुल्क र कम मूल्यमा पाउने सेवाका लागि अस्पताल बाहिर चर्काे मूल्य तिर्नुपरेको छ ।

‘हस्पिटलमा केही उपचार र औषधिमा सहुलियत थियो,’ उपचार सेवा नपाएर फर्किएका रामग्राम नगरपालिकाका पुरन यादव भन्नुहुन्छ, ‘तर न डाक्टर छन्, न औषधि नै । सार्है दुख पाइयो ।’ अस्पतालमा भिडियो एक्स रे सेवा ५ महिनायता बन्द छ । तीनसय रुपैयाँ तिरेर लिन पाइने एक्स रे सेवा बन्द हुँदा बिरामीहरु अस्पताल बाहिर एक हजार रुपैयाँसम्म तिर्न बाध्य छन् । त्यसो त, भिडियो एक्स रेबाट अस्पतालमा हुने गरेको वार्षिक १४ लाख रुपैयाँसम्मको आम्दानी पनि गुमेको छ ।

यस्तै, सामान्य शल्यक्रियामार्फत गराइने प्रसुति सेवा पनि बन्द हुँदा अस्पतालमा प्रसुति गराउनेको संख्या दिनहुँ घट्दै गएको छ । अर्कोतिर, अस्पतालमा फार्मेसी सेवा सञ्चालनमा त छ, तर औषधी छ्रैन । यसरी, सरकारले निःशुल्क उपलब्ध गराउने औषधीसमेत विरामीले मेडिकलबाट किन्नुपरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर आनन्तकुमार शर्माका अनुसार स्वास्थ्य विभागले विशेषज्ञ चिकित्सकहरु पूर्ति गर्न नसकेकाले अधिकांश सेवाहरु बन्द भएको हो । नवलपरासीको सबैभन्दा पूरानो अस्पतालको यो दूरावस्थाप्रति जिल्लाबासी चिन्तित बनेका छन् ।

उनीहरुले अस्पताल व्यवस्थापन समिति र जनप्रतिनिधिलाई अस्पतालको सहज संचालनका लागि पहल गर्न आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार