आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले युएईको ए टिमलाई १९३ रनको भारी अन्तरले पराजित गरेको हो ।
युएईको ए टिमले नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको रन जति पनि बनाउन सकेन । ३३४ रनको विशाल चुनौति पछ्याउदै ब्याटिङ गरेको युएईको ए टिमले ४२.४ ओभरमा सबै विकेटको क्षतिमा १४० रन मात्रै बनाउन सक्यो । युएई ए टिमका मोहम्मद क्वासिमले ४१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपाली खेलाडीको कसिलो बलिङमा युएई ए टिमका खेलाडी टिक्न सकेनन् । नेपालका लागि सन्दिप लामिछानेले ४ विकेट लिए । आईपीएल समेत खेल्न लागेका सन्दिपले १० ओभरमा मात्र ३६ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै, कप्तान पारस खड्काले २, सोमपाल कामी र शक्ति गौचनले समान १–१ विकेट लिए ।
आईसीसी एकेडेमी ओभलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३३ रन बनाएको थियो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले १५४ रन बनाए । ज्ञानेन्द्रले १३१ बलमा १७ चौका प्रहार गर्दै १५४ रन बनाएका हुन् ।
नेपालका लागि अर्का ओपनर दिलिप नाथले पनि अर्धशतक बनाएका थिए । दिलिप ७९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाउदै आउट भए । ज्ञानेन्द्र र दिलिपले १४२ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि अनिलकुमार शाह भने सस्तैमा आउट भए । अनिल १४ रन बनाएर आउट भए । अनिलपछि ब्याटिङमा आएका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । ऐरी ३४ बलमा ३४ रन बनाएर आउट भए । ऐरीपछि ब्याटिङ गर्न आएका आरिफ शेखले राम्रो ब्याटिङ गरे । उनले अविजित ३३ बलमा ४१ रन बनाए ।
यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा पनि नेपालले युएईको ए टिमलाई २५ रनले पराजित गरेको थियो ।
नेपाली क्रिकेट टिम आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको छ । युएईमा डिभिजन टु को तयारी गरिरहेको नेपाली टिम त्यतैबाट नामिविया जाने छ ।