यस्तो छ पिएचडीहोल्डरका पीडा !


काठमाडौँ । नामको अगाडि डा. लेखाउनेहरू कति विद्वान् हुन्छन् होला? उनीहरू त ज्ञानका खानी नै होलान्, हामीमध्ये धेरैले पिएचडी होल्डरका विषयमा यी र यस्तै धारणा बनाएका छौँ सायद ।

पिएचडीलाई कतिपयले पैसा छाप्ने ज्ञानको मेसिनका रूपमा लिएका छौँ होला त कतिले पिएचडीपछि सरकारी जागिर घरमै खोज्दै आउँछ भन्ने सोचेका । तर, यस्तो केही होइन । प्लस टु, ब्याचलर, डिग्रीजस्तै पिएचडी पनि एउटा तह हो । फरक यत्ति छ कि पिएचडी कुनै पनि विषयको खेस्रा, खेस्रा केलाएर गरिने गहन अध्ययन, अनुसन्धान हो ।

यसरी पिएचडी सम्पन्न गरेका व्यक्ति पक्कै पनि ज्ञानका खानी हुन्छन्, आफ्नो कलस्टरमा । उनीहरूले जुन विषयमा पिएचडी गरेका छन्, त्यही विषयको ज्ञानको भण्डार उनीहरूसँग हुन्छ । त्यसैले पिएचडी होल्डरको महत्व र आवश्यकतालाई देशको विकास र समृद्धिसँग जोडेरसमेत हेर्न सकिन्छ । किनकि उनीहरूको अध्ययन, अनुसन्धानबाट विभिन्न तथ्यहरू बाहिर आउन सक्छन्, नयाँ मोडालिटी बन्न सक्छ, विभिन्न आयामबारे जानकारी लिन सकिन्छ र त्यसपछि सम्भावनाका ढोका खुल्न सक्छन् । तर, त्यसका लागि राज्यले उनीहरूको उचित प्रयोग गर्नु आवश्यक छ । जुन सन्दर्भमा हुन सकेको छैन ।

सरकारी सेवामा आबद्ध एक पिएचडी होल्डरले दुःखेसो पोख्दै भने, ‘विदेशबाट एउटा विषयमा विज्ञता हासिल गरेर आइयो । यहाँ आएर राज्यले मन्त्रालयमा अर्कै काम दिएको छ । मलाई यस विषयमा ज्ञान हासिल गर्न मात्र १ वर्ष लाग्यो ।’ आफूले गहन अध्ययन गरेर आएको विषयसँग सम्बन्धित काम गर्ने उनको इच्छा नभएको होइन । तर, उनले हातमा आएको सरकारी जागिर छाड्न सकेनन् । न राज्यले नै उनको मनसाय बुझ्यो । हामीकहाँ यस्ता घटना धेरै छन् । एक त देशमा रहेका करिब दुई हजार पिएचडी होल्डरमध्ये सयजना मात्र सरकारी सेवामा आबद्ध छन्, त्यसमाथि उनीहरूको ज्ञानलाई सही प्रयोग गरिएको छैन । ती हाकिमले भने, ‘यस्तो हुन्थ्यो भन्ने थाहा पाएको भए मास्टर्स गरेपछि लोकसेवाको तयारी गर्थेँ । यतिवेलासम्म समयको पनि बचत हुन्थ्यो, पैसा पनि कमाइन्थ्यो, आखिर हुने अधिकृत नै रहेछ ।’

पिएचडी गरेर ‘प्लस टु’मा पढाइरहेका एक शिक्षकको पीडा पनि उस्तै छ । उनी बेकारमा विदेशबाट नेपाल आइएछ भन्ने मोडमा पुगिसकेका छन् । ‘विदेशमा अरूको काम गर्नुभन्दा नेपालमै सम्मानजनक काम गरौँ भनेर आइयो, तर यहाँ सोचेजस्तो भएन,’ उनी भन्छन्, ‘प्रध्यापन गर्नु नराम्रो भन्न खोजेको होइन, तर यसका लागि विदेश गएर पिएचडी गर्नुपर्ने आवश्यकता नै थिएन ।’ उनलाई राज्यले नै नीतिगत रूपमा केही गरिदियोस् भन्ने छ ।

गाउँ–घर, साथी–भाइले पिएचडी गरेर राजधानीमा राम्रै काम गरेको छ, ठूलो मान्छे बनेको छ भन्ने सोच्छन् । त्यसैले उनीहरू आफ्नो नाम सार्वजनिक गर्न चाहन्नन् ।

राज्यले यो सबै देखेको छ कि छैन रु देखेको छ भने के गरिरहेको छ रु मनमा जिज्ञासा पलायो । र, बहालवाला शिक्षामन्त्रीलाई फोन गरेँ । उनले यस विषयमा आफूलाई धेरै थाहा नभएको बताए । भने, ‘भेटेरै कुरा गरौँला, अहिले यस विषयमा मलाई त्यति धेरै थाहा भएन ।’ त्यसो भए यस विषयको जिम्मेवार निकाय को त रु शिक्षा मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाशाखासँग बुझ्न खोजेँ । त्यसो त पिएचडीको विषयमा स्टोरी गर्नुअघि शिक्षा मन्त्रालयअन्तर्गत रहेको सो विभागमा म तीनपटक पुगेको थिएँ । तीनपटक नै न महाशाखाका जिम्मेवार कर्मचारी भेटिए न उपसचिव नै । अन्तिम विकल्प फोन सम्पर्क थियो । दुवै हाकिमले फोन त उठाए, तर आफूहरू बिदामा बसेकाले केही नबोल्ने ढिपी कसे अनि फोन काटिदिए । त्यति नै वेला पिएचडी एसोसिएसनका एक कर्मचारीले भनेको कुरा याद आयो– पहिलो नेपाली पिएचडी होल्डर पत्ता लगाउन लागिपरेका छौँ, तर मन्त्रालयले एकरत्ति सहयोग गर्दैन । नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार