अवसरको खोजीमा सहर पस्दा गाउँ सुनसान

खोटाङ । दिप्रुङ गाउँपालिका–२, डाँडागाउँको खुतुम्बुले कुनै समय बजारकै रुप लिएको थियो । मिलेको जग्गा र बाक्लो बस्तीका कारण कुनै समय बजारको झल्को दिने खुतुम्बु हाल सुनसान छ। अध्ययन, रोजगारी र अवसरको खोजीलगायत कारण घर छाड्दै हिँड्नेक्रम सुरु भएपछि खुतुम्बुमा हाल ३/४ घर मात्र बाँकी छन्।

यस्तै, बसाइँसराइकै कारण हलेसी तुबाचुङ नगरपालिका–५, दुर्छिमको चुमाखुस्थित सिरानटोल रित्तिँदै गएको छ । सिंगो टोलमा हाल ७ परिवार मात्र छ । भएका दुई घरमा पनि एक÷एकजना मात्र छन् । प्रायःजसो अवसरको खोजी, रोजगारी, अध्ययन, सडक, विद्युत्, विद्यालय, अस्पताललगायत सुविधाको खोजी, स्रोतसाधनको अभाव, वैैदेशिक रोजगारलगायतका कारण अधिकांश गाउँ घर रित्तिए, सहर भरिए । तर, समय बदलिँदो छ । अहिले राज्य पुनर्संरचनासँगै क्रमशः गाउँ–गाउँमा पनि विकास र परिवर्तनका संकेत देखिन थालेका छन् । सडक, शिक्षा, विद्युत्, स्वास्थ्य, टेलिफोनको पहुँच गाउँसम्म पुग्न थालेको छ।

गाउँका मानिस सहर र सुविधायुक्त ठाउँमा गएपछि सयौं हेक्टर खेतबारी बाँझिएको छ । यसले स्थानीय विकासमा पनि असर परेको छ ।
बस्ती पातलिए पनि हलेसी तुबाचुङ नगरपालिका–५, दुर्छिमको सिरान टोलमा हाल कच्ची सडक पुगेको छ । खानेपानी हाहाकार हुने सो टोलमा पानीका धारा ल्याइएका छन् । नजिकै रहेको दुर्छिम माविमै कक्षा १२ सम्म अध्ययन गर्ने वातावरण बनेको छ । पहिला एक दिनमा पुगिने सदरमुकाम दिक्तेल अहिले तीन घण्टामै पुग्न सकिन्छ । कुनैबेला ढाकरमा सामल बोकेर ९/१० दिन हिँडेर पुगिने काठमाडौं एकै दिनमा पुग्न सकिने अवस्था बनेको छ । आकस्मिक बिरामी परेकाबेला एम्बुलेन्सबाट अस्पतालसम्म पुग्न सहज बन्दै गएको छ । तर, विस्तारै सेवासुविधा आइपुगेको गाउँमा उपभोग गर्ने जनसंख्या भने कम भएको मुन्धुम अध्येता भोगीराज चामलिङले बताए । ‘सेवासुविधा खोज्दै सहर पस्दा गाउँघर सुनसान भए । अहिले तिनै गाउँमा विकासको लहर आउन थालेको छ,’ दुर्छिमका चामलिङले भने, ‘समय परिवर्तनसँगै गाउँमै सुविधा आइपुग्यो, तर उपयोग गर्ने मान्छे भएनन्।’

जिल्ला समन्वय समितिको आर्थिक वर्ष २०७२/०७३ को व्यक्तिगत घटना दर्ता विवरणअनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङबाट ७३१ परिवार विभिन्न ठाउँमा बसाइँ सरेका छन् । सेवा सुविधाको खोजी मात्र बसाइँसराइको कारण होइनन्। रोजगारीका सिलसिलामा सहर बस्ने घरका सदस्यले सिंगो परिवारलाई उत्तै लैजाने गर्दा पनि गाउँ रित्तिन थालेका हुन्।

विदेश गएरमा कमाएको पैसाले सहरमा घरजग्गा जोडेर गाउँ छाड्नेको संख्या पनि बढ्दो छ । मेहनत गर्दा गाउँमाभन्दा सहरमा राम्रो आम्दानी हुने भएकाले पनि बसाइँ सर्ने बढेका हुन् । बसिरहेको ठाउँमा मेहनत अनुसार उब्जनी नभएपछि उर्बर ठाउँको खोजीमा बसाइँ सर्नेको संख्या पनि उत्तिकै रहेको जिल्ला समन्वय समितिले जनाएको छ । पानी, घाँस दाउराको समस्या, जंगली पशुपन्छीबाट अन्नबालीमा पुग्ने क्षति र हैरानीका कारण पनि गाउँ छाड्ने परिवारको संख्या बढ्दो छ।

गाउँका मानिस सहर र सुविधायुक्त ठाउँमा गएपछि सयौं हेक्टर खेतबारी बाँझिएको छ । मान्छे बस्न छाडेका कुनै घर ढलिसकेका छन्, कुनै ढल्न लागेका छन् । कुनै घर भग्नावशेष भएका छन् । गाउँ रित्तिँदै जाँदा यहाँको विकासमा समेत असर पुगेको छ।

खोटाङलाई जोड्ने पक्की पुल निर्माण हुनेक्रममा छ । मध्यपहाडी लोकमार्गले छोएको जिल्लाका सडक कालोपत्रे हुँदैछन् । स्थानीय तह कार्यान्वयनसँगै गाउँ/नगरपालिका केन्द्रमा सहरीकरण बढ्दो छ । गाउँ/नगरपालिकाको केन्द्र र आसपासमा बसाइँ सर्नेक्रम सुरु भएको छ। क्रमशः सिंहदरबारको अधिकार गाउँमा आइपुग्नेक्रम जारी छ । सहरभन्दा गाउँघरमै सम्भावनाको ढोका खुल्दो छ। सम्भावना देखेका कतिपय स्थानीय गाउँ छाडेर तिनै केन्द्रसँग नजिकिँदै छन् । गाउँमा खुलेको सम्भावनाले सहर पसेका कतिपयलाई गाउँ फर्कने वातावरण बनेको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबी चामलिङले बताए । ‘सेवा सुविधा र विकास पूर्वाधारकै खोजीमा मान्छे सहर पसेका हुन्,’ चामलिङले भने, ‘त्यो सेवासुविधा गाउँमा आएपछि निश्चय नै उनीहरुलाई फर्काउन सकिन्छ।’

विभिन्न कारणले हुने बसाइँसराइले उर्बर जग्गा बाँझिँदा जिल्लाको कृषि उत्पादनमा नकरात्मक असर पुगिरहेको छ । कतिपय परिवार बसाइँ सरेर गए पनि गाउँको जग्गा बिक्री गर्न चाहँदैनन् । किन्ने मान्छे आए पनि उनीहरु जग्गा बेच्न तयार हुँदैनन् । बेला–बेलामा जन्मेहुर्केको थलोमा आउने र इष्टमित्रसँग भेटघाट गर्ने माध्ययमका लागि जग्गा बिक्री नगरी हिँड्ने परिवारका कारण पनि खेतीयोग्य जग्गा बाँझिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार