ला लिगा लिगमा सेल्टाले जित हात पार्यो

एजेन्सी । लिगको सातौ स्थानमा रहेको सेल्टा डे भिगोले स्पेनिस ला लिगा लिग फुटबलमा जित हात पारेको छ । सेल्टाले रियल बेटिसलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा सेल्टाको जितका लागि लेगो अस्पासले २ र म्याक्सिमिलियानोले १ गोल गरे । यता बेटिसका लागि सर्जियो लियोन र एन्ड्रस गुएर्डाडोले समान १–१ गोल गरे ।

खेलको १२औं मिनेटमा नै लेगो अस्पासले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १–० गोलअन्तरले अघि रहेको सेल्टाले दोस्रो हाफमा थप २ गोल गर्दा बेटिसले पनि २ गोल गर्न सफल भयो ।

खेलको ५७ औं मिनेटमा सेल्टाका लागि म्याक्सिमिलियानोले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । २–० गोलले पछि परेको बेटिसले खेलको ७१ औं मिनेटमा सर्जियो लियोनको गोलबाट २–१ को स्थितिमा पु¥याएको थियो । त्यसको ८ मिनेटपछि नै सेल्टाका लेगो अस्पासले ब्यक्तिगत दोस्रो गोल गर्दै ३–१ गोलको अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा एन्ड्रस गुएर्डाडोले गोल गर्दै बेटिसलाई ३–२ को स्थितिमा झारेपनि सेल्टालाई रोक्न भने सकेनन् ।

लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । उपाधि होडमा रहेको बार्सिलोनाको २१ खेलबाट १८ मा जित र ३ खेलमा बराबरी खेल्दै ५७ अंक रहेको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा भने एथ्लेटिको मड्रिड रहेको छ । एथ्लेटिको मड्रिडको समान २१ खेलबाट ४६ अंक रहदा तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको भने ४० अंक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार