माटाबाट बन्ने भाडाकुँडालाई आधुनिक रुप दिएपछि फस्टायो व्यापार

गुल्मी । कुमाल समुदायको परम्परागत माटाका भाँडा बनाउने सदियौं देखि पेशा लोप हुँदै गएको छ । कुनै समय माटोबाट बनेको भाँडा र घैंटाको पानी खाने चलन थियो ।

घरायासी प्रयोजनमा ल्याईने माटाका भाँडाहरुको सट्टा प्लाष्टिक , स्टील , जस्ता धातुका भाँडा प्रयोगमा ल्याउन थालिए लगत्तै कुमाल समुदायहरु उक्त पेशाबाट विस्थापित भई अन्य मजदुरी गर्न बाध्य हुँदै आएका छन् ।

तर पछिल्लो समयमा उक्त पेशालाई आधुनिकीकरण गरेर सेरामिक्स उद्योगमा परिणत गर्न थालिएको छ ।

गुल्मीको अमरपुर वुल्ममा रहेका सयौं कुमाल समुदायले पनि २०५२ सालमा सेरामिक्स उद्योग सञ्चालनमा ल्याएका थिए । तर आर्थिक र कच्चा पदार्थको अभावमा उक्त उद्योग दुई वर्ष नवित्दै बन्द भएको थियो ।

सोही बन्द उद्योगलाई अहिले सञ्चालनमा ल्याए पछि व्यवसाय फस्टाउँदै गएको छ । ईस्मा गाउँपालिका वडा नम्वर ६ , साविकको अमरपुर गाविस वुल्मी र राङ्गदाल गाउँमा दुई सय घरधुरी भन्दा बढि कुमाल समुदायको वसोवास रहेको छ ।

जुन स्थान माटाका भाँडा बनाउने र घर लिप्ने रातोमाटो पाउने स्थानका रुपमा प्रशिद्ध छ । सोही स्थानमा पुन सञ्चालनमा आएको प्रगतिशिल सेरामिक्स उद्योगमा निकै आकर्षक दियो, कलश , देवीदेवताको मुर्ति, गमला, खुत्रुके र अन्य विभिन्न आकृतिका घरायासी सजावटका कलात्मक वस्तुहरु उत्पादन भई विभिन्न जिल्लामा निर्यात हुने गरेको छ ।

घरेलु तथा साना उद्योग विकास समितिको पहलमा पुनः सञ्चालनमा ल्याए पछि व्यवसाय फस्टाउँदो अवस्थामा रहेको त्यस समुदायका अगुवा हुमा कुमाल बताउँछन् ।

घरेलु तथा साना उद्योग विकास समिति गुल्मीले सेरामिक्स सम्वन्धि तालिम दिए पछि अहिले त्यस गाउँमा त्यो सहित ५ वटा सेरामिक्स उद्योगहरु सञ्चालनमा आएको र मासिक २५ हजार सम्म आम्दानी लिने गरेको समुहका अध्यक्ष तथा वजार उद्योग प्रवन्धक पदम मुखियाले बताए ।

भारत लगायत बिभिन्न देशमा रोजगारीका लागि भौतारिएका त्यहाँका विपन्न वर्गका कुमाल समुदायका युवाहरु पनि उद्योग व्यापार फस्टाए पछि गाउँ फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार