शहीदको सम्झनामा आज शहीद दिवस मनाइदैं

देशको स्वतन्त्रता र प्रजातन्त्रको स्थापनाका लागि ज्यानको आहुति दिने शहीदहरुको संझनामा देशभर बिविध कार्यक्रम गरी शहीद दिवस मनाइदै छ ।

प्रत्येक बर्षको माघ १६ गतेलाई देशको परिवर्तनमा आफ्नो ज्यान गुमाएका वीर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । विक्रम सम्वत १९९७ सालमा तत्कालिन राणा शासकहरुले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरुलाई मृत्यूदण्ड दिएको थियो । वीर शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथचन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा झुण्डयाएर मृत्युदण्ड दिएको थियो ।

यसैबिच राष्ट्रपति बिद्यादेवी भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको उच्च प्रशंसा गरीन् । उनले शहीदहरुको त्यागले नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदहरु प्रति श्रद्धाञ्जलि व्यक्त गरेको हो । त्यसैगरी उपराष्ट्रपतिबाट नन्दबहादुर पुनले पनि शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्न एक भएर लाग्न सबैलाई आग्रह गरेका छन् । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान शहीदको संझना गरेका छन् । त्यस्तै, राजनीतिक दलका दलका नेताहरुले समेत शहीदहरुको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार