काठमाडौं । गाडी विक्रेताको समूहविरुद्ध आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन र कारबाही सुरु गरेपछि कारबाही रोक्न दबाब दिँदै विक्रेताहरू सचिवदेखि मन्त्रीसम्म पुग्न थालेका छन् ।
विभागले ठगी अभियोगमा कारबाहीको दायरमा ल्याएपछि उनीहरूले अर्थ मन्त्रालयका उच्च अधिकारीदेखि अर्थमन्त्रीसम्म भेटेर प्रभावमा पार्न थालेका हुन् ।
आफूहरू ठूला करदाता भएको दाबीसहित सरकारलाई धेरै कर तिर्नेलाई हतोत्साहित गर्ने गरी काम भएको भन्दै रोक्न दबाब दिइरहेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार रेनल्ट, फोर्डलगायत गाडीका विक्रेताले अनुगमनका नाममा ढुक्कसँग व्यापार गर्न नदिएको भन्दै अनुगमन रोक्न दबाब
दिइरहेका छन् । उनीहरूले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत सम्पर्क गरी गाडी कम्पनीमाथिको अनुगमनले आफूहरू हतोत्साहित भएको भन्दै अनुगमन रोक्न निर्देशन दिन माग गरेका छन् ।
गाडी व्यवसायीको दबाबपछि अर्थमन्त्री कार्कीले अनुगमन रोक्न सरोकारवाला निकायलाई निर्देशनसमेत दिइसकेको स्रोतको दाबी छ । पछिल्लो समय आपूर्ति विभागले गरेको अनुगमनको क्रममा अधिकांश गाडी विक्रेताले उपभोक्ता ठगी गरेको भेटिएको छ । अहिलेसम्म १३ गाडी विक्रेता कम्पनीमा अनुगमन गरेको विभागले फोर्ड र रेनल्टमा सबैभन्दा बढी बदमासी भेटेको जनाएको छ ।
उपभोक्ताबाट अतिरिक्त शुल्क असुल्न नपाउने भएपछि अनुगमन रोक्न व्यापारीहरू सिंहरदरबार धाउन थालेका हुन् । अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले भने यस विषयमा आफूले कसैलाई पनि निर्देशन नदिएको प्रतिक्रिया दिए । उनले यस विषयमा केही कुरा उठेको भन्दै यसबारे राजस्व सचिव विस्तृत रूपमा जानकार रहेको बताए ।
उता, राजस्व सचिव शिशिर ढुंगानाले गाडी विक्रेतामाथि भइरहेको अनुगमनबारे अनौपचारिक विषयमा मन्त्रालयमा चर्चा चलेको भए पनि औपचारिक रूपमा कसैले कसैलाई निर्देशन नदिइएको स्पष्ट पारे ।उनले अहिलेको अनुगमनले ठूला करदातालाई हतोत्साहित गर्ने काम भएको भन्ने विषय उठेको भए पनि औपचारिक रूपमा मन्त्रालयलाई पत्र भने नलेखिएको जानकारी दिए ।
अर्थ स्रोतका अनुसार विक्रेताको दबाबपछि आपूर्ति सचिवलाई बोलाएर विषयमा छलफल गर्ने तयारी भइरहेको छ । आपूर्ति सचिव अनिलकुमार ठाकुरले भने ठगी गर्ने कम्पनीहरूलाई ठूला करदाता भएकै आधारमा छुट नदिइने बताए । उनले अहिलेसम्म आफूलाई कसैले पनि दबाब नदिएको भन्दै कानुनसम्मत काममा आफू कसैको दबाबको पछि नलाग्ने स्पष्ट पारे ।
विभागले अहिले अनुगमनबाट ठगी गरेको भेटेका गाडीमध्ये केहीलाई कारबाहीका लागि प्रहरीलाई पत्र पठाइसकेको र बाँकी केहीलाई कारबाहीका लागि पत्र लेख्ने प्रक्रियामा छ । गाडी विक्रेताहरूले कारबाही रोक्न सचिवदेखि मन्त्रीसम्म गुहार गरे पनि विभागका महानिर्देशक कुमार दाहाल भने सबै गाडी विक्रेताबाट कुनै न कुनै शीर्षकमा ठगी भइरहेको भेटिएको बताए । ‘अनुगमनका क्रममा सबै खाले गाडी विक्रेताबाट मूल्यदेखि गुणस्तरसम्ममा कुनै न कुनै रूपमा उपभोक्ता ठगी गरेर गाडी बिक्री गरिरहेको भेटिएको छ,’ उनले भने ।
उनले गाडी बिक्रीको क्रममा व्यापक उपभोक्ता ठगी भएको उजुरीपछि विभागले गाडी विक्रेता कम्पनीमा अनुगमन गरिरहेको र पनि विस्तृत अनुसन्धानपछि कारबाहीको दायरामा ल्याइने बताए ।
आपूर्ति विभागले फोर्ड गाडी बिक्रीमा चर्काे मूल्य असुली गरेको आरोपमा ३ दिनभित्र सक्कल कागजातसहित विभागमा उपस्थित हुन दिएको निर्देशनलाई कम्पनीले उल्लंघन गरेको छ ।
विभागले आइतबारसम्मको समयसीमा दिए पनि उसले कागजातसहित स्पष्टीकरण नदिएको विभागले जनाएको छ । गत बिहीबार विभागले ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएकोमा आइतबार कार्यालय समयपछि मात्र कम्पनीका प्रबन्धक सम्पर्कमा आएपछि बयान लिने कार्य हुन सकेन । विभागका अधिकृत रमेश श्रेष्ठका अनुसार सोमबार (आज) कम्पनीका आधिकारिक व्यक्तिसँग बयान लिएपछि थप कारबाही अघि बढ्नेछ ।
विभागले राजधानीको थापाथलीमा रहेको फोर्ड गाडीका आधिकारिक विक्रेता जीओ अटो मोबाइल्स प्राइभेट लिमिटेडलाई बयानका लागि बोलाएको थियो ।अनुगमनको क्रममा सो कम्पनीले करबाहेक वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार २९२ रुपैयाँ पर्ने फोर्ड कम्पनीको इको स्पोर्ट चारपांग्रे सवारीसाधनलाई ५ लाख ६४ हजार ४१६ रुपैयाँ थप गरी उपभोक्ता बिक्री मूल्य २८ लाख २२ हजार ७०८ रुपैयाँ कायम गरेको भेटिएको थियो । अधिक नाफा राखेर बिक्री गरेको भेटिएपछि उसलाई कारबाहीका लागि विभागमा उपस्थित हुन तीन दिनको समय दिइएको श्रेष्ठले बताए, अाजकाे राजधानी दैनिकमा खबर छ ।