फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशालि जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले रेनलाई ४–१ गोलले हराएको छ ।
स्टार स्ट्राइकर नेयमारले टिममा सुन्दर दुई गोल र २ असिस्ट गर्दै प्रभावशाली पुनरागमन समेत गरेका छन् । नेयमार गएको हप्ता लिलीसँगको खेलमा प्रतिबन्धका कारण मैदान बाहिर थिए भने यो हप्ताको बिचमा भएको लिग कप खेलमा व्यक्तिगत कारणले ब्राजिल गएका थिए । तर उनले दुई खेलपछि फर्किँदा दुई गोल नै गरेका हुन् ।
खेलको १४ औं मिनेटमा केलियन एमबाप्पेको पासमा नेयमारले गरेको गोलबाट नै पिएसजीले अग्रता लिएको थियो हो । १७ औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा रेनका लागि मुबेलेले गोल फर्काएका थिए । ६३ औं मिनेटमा एन्ड्रे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रेन १० खेलाडीमा सीमित भयो ।
नेयमार कै पासमा एडिसन काभानीले ७५ औं मिनेटमा पिएसजीका लागि तेस्रो गोल गरे । त्यसको एक मिनेटपछि बाप्पेको पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४–१ को जित निश्चित गर्यो ।
८९ औं मिनेटमा किमपेम्बे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी पनि १० खेलाडीमा सीमित भएको थियो । जितपछि लिडर पिएसजीको १८ खेलबाट ४७ अंक भएको छ ।