नेपाली राष्ट्रिय टिमका १७ वर्षीय स्टार लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । बेस सेल्स (आधारभूत मूल्य) २० लाख भारुमा दिल्लीले बोली लगाएपछि सन्दीप आइपिएलमा आबद्ध हुने पहिलो नेपाली बनेका छन् । पाँच सय ७८ जना सम्मिलित सूचीमा सन्दीप २७८औँ स्थानमा थिए ।
तर, विश्वका चर्चित खेलाडी ‘अनसोल्ड’ रहेको अक्सनमा सन्दीपले भने मौका पाएका छन् । यसअघि कुनै पनि नेपाली खेलाडी अक्सन सूचीमा नै परेका थिएनन् । शक्ति गौचनले राजस्थान रोयल्समा ‘ट्रायल’ दिन पाएका थिए ।
नेपाली यू–१९ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वको ध्यान तान्न सफल सन्दीप दुई वर्षयता नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी हुन् । सन्दीपको बलिङबाट प्रभावित अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले उनलाई अस्ट्रेलियामा अभ्यासको मौका जुराएका थिए । यो मौका सन्दीपले सदुपयोग गर्दा उनी क्लार्कसँग झन् नजिकिएका थिए ।
२०१६ मा बंगलादेशमा सम्पन्न यू–१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका सन्दीपलाई हङकङको क्लब टी–२० ब्लिट्जले अवसर दिएको थियो, जहाँ उनले टोलीको कप्तानको रूपमा माइकल क्लार्कलाई भेट्टाए । कोलुन कोन्टेजविरुद्ध सानदार प्रदर्शन गरेपछि क्लार्क सन्दीपसँग आकर्षित भएका थिए ।
क्लार्कले सिड्नीको स्थानीय क्लब वेस्टर्न सुर्बब डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्न लामिछानेलाई सिड्नी बोलाएका थिए । यो प्रतियोगिताले सन्दीप क्लार्कसँगको सम्बन्ध थप आत्मीय बन्यो भने उनले क्लार्कको एकेडेमीमा एक साता अभ्यासको मौकासमेत पाए । क्लार्कले सन्दीप विश्वको उत्कृष्ट बलर भएको ट्विट गर्दै उनी सिड्नीमा रहँदा आफू निकै उत्साहित भएको बताएपछि सन्दीपको चर्चा चुलिएको थियो ।
क्लार्क मात्र होइन, नेपाली टिममा कन्सल्ट्यान्टका रूपमा आबद्ध भएका भारतीय क्रिकेटका केही हस्ती पनि सन्दीपको प्रशंसक बनेका थिए । यसरी विभिन्न कोणबाट सन्दीपलाई आइपिएल अक्सनमा नाम पठाउन आवश्यक प्रबन्ध भएपछि र अक्सनको सूचीमा समेत परेपछि क्लार्कले सन्दीपलाई राख्नुपर्ने मतसहित अर्को ट्विट गरे ।
जसले गर्दा ‘अनक्याप्ड’ खेलाडी सन्दीपको सम्भावना बढेको थियो । अस्ट्रेलियाकै पूर्वकप्तानसमेत रहेका रिकी पोन्टिङ प्रशिक्षक रहेको दिल्ली डेयर डेभिल्सले सन्दीपलाई आबद्ध गर्नुको पृष्ठभूमि पनि यही हो ।
अक्सनका दौरान खेलाडी छनोटमा समेत पोन्टिङको महत्वपूर्ण भूमिका थियो । बेस सेल्सका रूपमा पोन्टिङको दिल्लीले २० लाखमा सन्दीपलाई कबोल गर्दा अन्य कुनै पनि क्लब प्रतिस्पर्धामा उत्रिएनन् । सन्दीप छानिएसँगै क्लार्कले ट्विट गर्न ढिलो गरेनन् । उनले ‘ब्रिलियन्ट न्युज’ भन्दै सन्दीप लामिछानेलाई दिल्लीले किनेको समाचार राख्दै बधाई पनि दिए ।
चर्चित खेलाडीसँगको अभ्यास
पहिलो नेपाली खेलाडीका रूपमा सन्दीपले विश्वका चर्चित खेलाडीसँग अभ्यास गर्ने मौका पाउँदै छन् । कप्तानका रूपमा अस्ट्रेलियालाई दुईपटक विश्वकप दिलाएका रिकी पोन्टिङको प्रशिक्षण पाउँदा लामिछानेले अब समकक्षीका रूपमा टे्न्ट बोल्ट, गौतम गम्भीर, अमित मिश्रा, ग्लेन म्याक्सवेल, कोलिन मुन्द्रो, कागिसो राबाडा, क्रिस मोरिसजस्ता चर्चित स्टारसँग अभ्यासको मौका पाउनेछन् ।
सन्दीपको करिअर
सन्दीपको ‘टर्निङ प्वाइन्ट’ यू–१९ विश्वकपको प्रदर्शन नै हो । २०१६ मा भएको सो प्रतियोगितामा उनले सर्वाधिक विकेट लिने खेलाडीमा आफूलाई दोस्रो स्थानमा राखेका थिए । सन्दीपले ४.६७ इकोनोमीमा १४ विकेट लिएका थिए । दुई अभ्यास खेलमा पनि पाँच विकेट लिएका थिए ।
सो प्रतियोगितामा लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्यान्डलाई नेपालले ३२ रनले पराजित गरेको थियो । त्यस्तै, सन्दीपले ह्याट्रिकसहित पाँच विकेट लिएपछि आयरल्यान्डविरुद्ध ८ विकेटको जित निकाल्न नेपाल सफल भएको थियो । यो खेलमा २७ रन दिएर पाँच विकेट लिनु नै सन्दीपको करिअरकै उत्कृष्ट बलिङ फिगर हो । सन्दीपको सानदार प्रदर्शनमा नेपाल दोस्रोपटक यू–१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो ।
विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा नामिबियाविरुद्धको खेलबाट उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यसयता उनी राष्ट्रिय टिममा निरन्तर छन् । विश्व क्रिकेट लिगका नौ खेलमा उनले १२ विकेट लिएका छन् ।
त्यसो त सन्दीपले गत महिना भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पनि सात खेलमा नौ विकेट लिएका थिए । अहिले उनी डिभिजन टुका लागि राष्ट्रिय टिमसँगै अभ्यासका क्रममा युएईमा छन् । टिम उतैबाट नामिबिया प्रस्थान गर्नेछ ।
विश्वका ‘भेट्रान’ जो बिक्री भएनन्
टी–२० क्रिकेटमा वेस्ट इन्डिजका क्रिस गेल सबैभन्दा आक्रामक ब्याट्सम्यान मानिन्छन् । टी–२० मा १० हजार रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् । उनले आइपिएलमा पाँच शतक पूरा गरेका छन् । तर, आइपिएल २०१८ का लागि दुईपटकको अक्सनमा उनी असफल रहे । तेस्रो अक्सनमा उनलाई किंग्स इलेभेन पन्जाबले लियो । तर, उनीजस्ता धेरै चर्चित अनुहारले यसपालि आइपिएल गुमाउँदै छन् ।
केही चर्चित ‘अनसोल्ड’ खेलाडी
लेन्डी सिमोन्स (वेस्ट इन्डिज), इयान मोर्गेन (इंग्ल्यान्ड), हासिम अम्ला (दक्षिण अफ्रिका), मार्टिन गुप्टिल (न्युजिल्यान्ड), जेम्स फल्कनर (अस्ट्रेलिया), जोनी ब्यारिस्टो (इंग्ल्यान्ड), जोस हेजलउड (अस्ट्रेलिया), इशान्त शर्मा (भारत), स्यामुअल बद्री (वेस्ट इन्डिज), कोरी एन्डरसन (न्युजिल्यान्ड), डेल स्टेन (दक्षिण अफ्रिका), नाथन लियोन (अस्ट्रेलिया), प्रज्ञान ओझा (भारत), ज्यासन होल्डर (वेस्ट इन्डिज), थिसरा परेरा (श्रीलंका), मोनी मोर्केल (दक्षिण अफ्रिका), अमित मिश्रा (भारत), कुशल परेरा (श्रीलंका) लासिथ मालिंगा (श्रीलंका) ।
सन्दीप भन्छन्, दिल्ली डेयरडेभिल्सलाई धन्यवाद !
यो क्षण स्वयं म आफैँलाई अचम्म लागिरहेको छ । आइपिएलमा दिल्लीका माध्यमबाट अनुबन्धित हुन पाएँ, धन्यवाद दिन चाहन्छु । त्यहाँको अनुभव निकै राम्रो हुनेछ । मलाई यहाँसम्म पु-याउने सबै समर्थकलाई मुरीमुरी धन्यवाद ।
आजको नयाँ पत्रिकामा खबर छ ।