भूकम्प पीडितलाई कर्जा नदिने बैंकलाई कारवाही गर्ने

काठमाडौं । भूकम्प पीडितलाई कर्जा नदिने बैंकलाई कारवाही गर्ने चेतावनी बैकर्स संघले दिएको छ । बैंकहरुले सरकारसँग भएको सम्झौता अनुसार कर्जा नदिए संघले कारवाही गर्ने जनाएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र एशोसिएशनका प्रतिनिधिसँगको छलफलपछि संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले कर्जा नदिने बैंकमाथि कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

सो अवसरमा बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सरकारसँग भएको सम्झौता अनुसार उपत्यकाका भूकम्प पीडितका लागि २५ लाख र बाहिरका पीडितका लागि १५ लाख रुपैयाँ नदिने बैंकलाई कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

यता प्राधिकरणले पनि भूकम्पपीडितका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन सम्बन्धित निकायका अधिकारीलाई निर्देशन समेत दिएको छ । हालसम्म प्रमाणित भएका ७ लाख ६७ हजार भूकम्प पीडितमध्ये ६ सय ५९ पीडितले मात्र यो सुविधा पाएका छन् ।

छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन दिनभित्र ऋण दिने विधि र प्रक्रिया बैंकमा सार्वजनिकरुपमा टाँस गर्न निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले ऋणको ब्याज सरकारले दिने प्रतिबद्धता जनाएको जानकारी दिनुभएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पीडितलाई ऋण दिँदा २ प्रतिशत ब्याजबाहेक अन्य रकम लिन नपाउने व्यवस्था कार्यविधिमा गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार