काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार रमेश ताम्राकारको हृद्यघातबाट बिहीबार बेलुकी निधन भएको छ । बिहीबार बेलुकी अचानक छाती दुखेको शिकायत गरेपछि उनलाई बल्खुस्थित वयोधा हस्पिटल लगेपनि चिकित्सकहरुले अस्पताल पुग्नु अघि नै उनको निधन भइसकेको जानकारी गराएका थिए ।
मधुमेहबाट पीडित ताम्राकार साँस्कृतिक संस्थानका दोस्रो महाप्रवन्धक थिए । उनीपछि मात्र स्वर्गीय नारायण गोपाल साँस्कृतिक संस्थानको महाप्रवन्धक नियुक्ति भएका थिए ।
गायिकातारा थापासँगगाउनु भएको यादै यादमाअल्झियो‘, गायिका ज्ञानु राणासँग गाएका ‘हीरा के हो चिन्नलाई‘, ईशारा जोडिदियौ तिमी‘ जस्ता कालजायी गीतका गायक ताम्राकारले दर्जनौं लोकप्रिय नेवारी गीतहरुसमेत गाएका छन् । उनले धेरै नेपाली र नेवारी गीतहरुमा आफै संगीतसमेत दिएका छन् । गायक ताम्राकार यसैवर्ष नातिकाजी राष्ट्रिय संगीतबाट समेत सम्मानित भएका थिए ।
काठमाडौँमा जन्मिएका ताम्राकारकी धर्मपत्नी काम विशेषले हाल नयाँदिल्लीमा छन् भने छोरा सगुन ताम्राकार पनि अमेरिकामा रहेकाले उनीहरु काठमाडौं आइपुगेपछि मात्र उनको दाह सँस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।