राप्रपा राष्ट्रिय परिषद् बैठकमा ६ वटा प्रतिवेदन पेस हुने


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को फागुन अन्तिम साता वीरगञ्जमा हुने राष्ट्रिय परिषद् बैठकमा ६ वटा प्रतिवेदन पेस हुने भएका छन् । पार्टीको कार्यसम्पादन समिति बैठकले उपाध्यक्ष राजेन्द्र पराजुलीको संयोजकत्वमा परिषद् बैठक मूल आयोजक समिति गठन गर्दै बैठकमा ६ वटा प्रतिवेदन पेस गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकमा राजनीतिक कार्यपत्र, संगठन सुदृढीकरणसम्बन्धी प्रतिवेदन, सचिवालयसम्बन्धी प्रतिवेदन, हिन्दूराष्ट्र र हिन्दुत्वसम्बन्धी प्रतिवेदन, जनवर्गीय संगठन परिचालनसम्बन्धी प्रतिवेदन र भावी योजना र कार्यक्रमसम्बन्धी प्रतिवेदन पेस गर्ने निर्णय बैठकले गरेको हो ।

पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनीतिक कार्यपत्र पेस गर्ने कार्यक्रम तय भएको छ । अन्य प्रतिवेदन कसले पेस गर्ने भन्ने टुंगो लागिनसकेको श्रेष्ठले बताए । बैठकले अघिल्लो कार्यसम्पादन समिति बैठकद्वारा गठित स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी प्रतिवेदन तयार पार्न बनाएको समितिले पेस गरेको प्रतिवेदन पारित गरेको छ । अघिल्लो बैठकले निर्वाचनको समीक्षा गर्नका लागि केन्द्रीय सदस्य डा. विष्णु भण्डारी नेतृत्वमा ७ सदस्यीय समिति बनाएको थियो । सो प्रतिवेदन परिषद् बैठकमा पेस गरिने श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार