राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लाग्नुअघि बिहीबार साँझ मन्त्रिपरिषद बैठकमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरिएको हो ।
पर्यटनमन्त्री देवको दबावमा न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरी सो कार्यालयका कृष्ण देवकोटालाई लगिएको छ । मन्त्री देवले सचिव न्यौपाने असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप लगाएका छन् ।
स्रोतका अनुसार नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक हटाउने, बिभिन्न निकायमा राजनीतिक नियुक्ति गर्नेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनो खोल्ने अनुमति दिनेलगायतका मन्त्रीका प्रयासमा सचिव न्यौपाने बाधक बनेका कारण सरुवामा परेका हुन् ।
मन्त्री बनेदेखि नै जितेन्द्र देवले प्राधिकरणको महानिर्देशक सन्जिव गौतमलाई हटाएर मन्त्रालयकै हवाई उड्डयन महाशाखा प्रमुख सहसचिव सुरेश आचार्यलाई नियुक्त गर्न खोजेका थिए । निर्वाचनअघि नै गौतमलाई हटाउन खोज्दा निर्वाचन आयोगले रोकेको थियो ।
गौतमले आफूसँग मन्त्रीले हाकाहाकी पैसा मागेको र पैसा दिन नमानेपछि हटाउन खोजेको दावी गरिसकेका छन् । सहसचिव आचार्यसँग मन्त्रीको सेटिङ मिलिसके पनि सचिवले प्रस्ताव उठाउनै नमानेका कारण मन्त्री र सचिवबीच राम्रो सम्बन्ध थिएन ।
सचिव न्यौपानेले मन्त्रीका गैरकानुनी र अनुचित दबाव नमान्दा सरुवा गरेको हुनसक्ने निकटस्थहरुलाई बताएका छन् । कामचलाउ सरकारले जाँदाजाँदै आफूलाई सरुवा गर्दा आफू खुसी भएको उनले बताएका छन् ।
मन्त्रीले सचिव सरुवा गर्नुको कारण प्राधिकरणको महानिर्देशकको नियुक्तिमात्र चाहिँ होइन । लुम्बिनी विकास कोषको सदस्य सचिवलगायत बिभिन्न विकास समितिहरुका कार्यकारी पद रिक्त भएको बेला जाँदाजाँदै मन्त्रीले ती सबै ठाउँमा नियुक्ति गर्ने गरी बिभिन्न व्यक्तिहरुसँग लेनदेन गरिसकेको मन्त्रालय स्रोतले जनाएको छ ।