भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला आजबाट सुरु


सूचना तथा प्रविधि मेलाको २४ औँ संस्करण ‘क्यान इन्फोटेक’ बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

माघ १६ गतेसम्म हुने यो मेलामा १ सय ५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीलाई चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।

६ दिनसम्म चल्ने मेलामा अवलोकनकर्ताले आफूलाई आवश्यक परेको सूचना प्रविधिसम्बन्धी सामग्री छुटसहित खरिद गर्नसक्ने व्यवस्था गरिएको छ।

यसपटकको प्रदर्शनीमा ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिने आयोजकले जनाएको छ। जसअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित द्रूत गतिको इन्टरनेट प्रमुख आकर्षण बन्नेछ।

साथै टेलिफोन तथा मोबाइल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आएका छन्। बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीहरूमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा राखेका छन्।

सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित सो मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गर्दै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई-दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पुर्‍याउन लागिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार