चितवन राष्ट्रिय निकुञ्ज, पदमपुर क्षेत्रमा रहेको खुला खोर (इन्क्लोजर) भित्र बाघ पसेर अर्नाको शिकार गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार मंगलबार अनुगमनमा गएको टोलीले खोरभित्रको एउटा वयस्क पोथी अर्ना बाघले आक्रमण गरी मारेको अवस्थामा फेला परेको थियो। बुधबार अर्नाको शरीर परीक्षण गर्न गएको टोलीले अर्ना नभेटिएपछि खोजी गर्दै जाँदा घटनास्थलबाट ६० मि पर झाडीमा अर्नाको आधा भाग बाघले खाएको अवस्थामा फेला परेको हो। उनका अनुसार घटनास्थल वरपर खोजी गर्दै जाँदा बाघसमेत फेला परेको छ।
टोलीले बाघलाई लखेटेर खोर बाहिर पठाएको उनले जानकारी दिए। उनका अनुसार गत वर्षामा बाढीले बगाएर मर्मत गरिएको ठाउँबाट बाघ खोरभित्र पसेको देखिएको छ। उक्त बाघ सोही बाटो हुँदै बाहिरिएको उनले जानकारी दिए।