काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेश आन्दोलनको स्मरण गर्दै आज बलिदानी दिवस मनाएको छ ।
पार्टीका महासचिव केशव झाले आजभन्दा ११ वर्षपहिले आजकै दिनमा सिरहाको लहानमा रमेश महतोको गोली लागी मृत्यु भएपछि मधेश जनविद्रोह शुरु भएको दिनलाई स्मरण गरिएको बताउनुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले शहीद महतोको बलिदानका कारण मुलुकमा संघीयता तथा समावेशी लोकतन्त्र आएको भन्दै प्रदेश संसद्लाई सोही अनुसार काम गर्न निर्देशन दिनुभयो ।
सो कार्यक्रममा नवनिर्वाचित प्रदेशसभाका समानुपातिक तर्फका संसद्लाई स्वागत गरिएको थियो । कार्यक्रममा अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र अनिल झाको उपस्थिति थियो ।