शपथलगत्तै आइतबार नै राष्ट्रिय सभाको मतदाता नामावली सार्वजनिक हुने –
निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति विद्या भण्डारीबाट शुक्रबार प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएलगत्तै आयोगले प्रतिवेदन बुझाएको हो ।
निर्वाचन आयोगले ३ माघमा प्रदेश सभाको निर्वाचन परिणामको अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र प्रदेश सभा अधिवेशन बोलाइसक्नुपर्ने हुन्छ । संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । आयोगले शुक्रबार नै प्रदेश सभाका समानुपातिक सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ ।
आइतबार प्रदेश सदस्यको शपथ
प्रदेश सभा सदस्यलाई आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजेभित्र प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने सहमति भएको हो । ‘आइतबार बिहान प्रदेशको सम्बन्धित राजधानीमा प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने तय भएको छ,’ प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले नयाँ पत्रिकासँग भने । आयोगले सोही दिन दिउँसो राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गर्दै छ । राष्ट्रिय सभा निर्वाचनका मतदाता स्थानीय तहका प्रमुख र उपप्रमुखसहित प्रदेश सभा सदस्य पनि हुन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।